काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उस्तै प्रकृतिका घटनामा कसैलाई कारबाही त कसैलाई उन्मुक्ति दिने ‘दोहोरो मापदण्ड’ लागू गर्न खोजिएको छ ।

उस्तै उस्तै प्रकृतिका घटनामा समेत कसैलाई सामान्य स्पष्टीकरण समेत नसोधी कारबाहीको गरिएको छ भने, कसैलाई कारबाहीको प्रक्रिया नै अघि बढाएको छैन ।

पार्टीले पछिल्लोपटक कैलालीका दीर्घ सोडारी र काभ्रेका गोकुल बाँस्कोटा प्रकरणमा देखाएको दोहोरो चरित्रबाटै आफू निकटकालाई संरक्षण र अन्यलाई प्रहार गर्न खोजेको प्रस्ट भएको नेकपाका नेता कार्यकर्ताहरुको भनाई छ ।

नेकपा कैलाली जिल्ला कमिटी अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री थिए दीर्घ सोडारी । तर उनलाई एक महिलालाई मुख छाडेको आरोपमा पार्टीले कारबाही गर्‍यो ।

पदीय आचरण र सामाजिक मर्यादाभन्दा बाहिर गएर ‘अश्लील शब्द’ प्रयोग गरेको भन्दै मन्त्री र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सदस्यताबाटै सोडारीलाई हटाइएको थियो । २०७५ कात्तिक २७ गते उनलाई मन्त्री पदबाट हटाउँदै ६ महिनासम्म पार्टी सदस्यसमेत नरहनेगरी निलम्बन गरिएको थियो । तर डेढ वर्ष हुनलाग्दासमेत उनको निलम्बन फुकुवा भएको छैन । जब कि सोडारीले प्रयोग गरेको अश्लील शब्द अहिलेसम्म सार्वजनिक भएको छैन ।

सङ्घीय सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन ‘डिल’ गरेको अडियो २०७६ फागुन ७ गते सार्वजनिक भयो ।

उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा गरे पनि उनलाई पार्टीले अहिलेसम्म कुनै कारबाही गर्ने हिम्मत देखाएको छैन । त्यति मात्रै होइन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी ओली आफै गोकुल बाँस्कोटाको हकमा गल्ती नै नगरेको भनेर बचाउमा उत्रिएका छन् ।

यसबाट के बुझिन्छ भने नेकपामा विधि, पद्धति र प्रक्रियालाई एकातिर पन्छाएर गुटका आधारमा मात्रै कारबाही हुन्छ भन्ने स्पस्ट बुझ्न सकिन्छ ।

किन भएन गोकुलमाथि कारबाही

गोकुल बाँस्कोटा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीका अत्यन्तै विश्वासपात्र मानिन्छन् । यतिसम्म कि पहिलो पटक निर्वाचन जितेका बाँस्कोटालाई ओलीले मन्त्री मात्रै बनाएनन् सरकारको प्रवक्ता नै बनाए ।

सुरुमा राज्यमन्त्रीको जिम्मेवारी पाएका बाँस्कोटाले केही महिनामै बढुवा पाए र फूलमन्त्री पड्काए । त्यति मात्रै होइन ओली क्याबिनेटमा अरू मन्त्रीभन्दा शक्तिशाली थिए बाँस्कोटा । तर तिनै बाँस्कोटा भ्रष्टाचारजस्तो जघन्य अपराधमा मुछिँदा उनलाई न पार्टीले कारबाही गर्ने तयारी गरेको छ न त्यसबारे कुनै अध्ययन नै, जसले गर्दा नेकपाभित्र ‘कसैलाई काखा र कसैलाई पाखा’ भन्दै असन्तुष्टि चुलिन पुगेको छ ।

नेकपामा कारबाहीको दोहोरो मापदण्डबारे एक केन्द्रीय सदस्य भन्छन्, ‘गुटका आधारमा कसैलाई कारबाही र कसैलाई पुरस्कार दिने व्यवहारले समग्र पार्टीलाई हित गर्दैन । सोडारी र बाँस्कोटा प्रकरणमा पार्टीले दोहोरो चरित्र देखिएको छ । यो राम्रो होइन । यसबाट कसैलाई काखा र कसैलाई पाखाको व्यवहार भएको छ ।’

किन भयो सोडारीलाई कारबाही

पूर्व एमाले कैलालीको नेतृत्वमा रहँदा नेता माधव नेपालसँग नजिक थिए सोडारी । प्रदेश सरकार गठनका बेला पनि सोडारी सामाजिक विकासमन्त्री पदमा नेता नेपालकै जोडबलमा नियुक्त भएका थिए । तर मन्त्री पदमा नियुक्त भएको केही महिनामै उनले एक महिलामाथि गालिगलोजको शब्द प्रयोग गरेका थिए । ती महिलाको उजुरीका आधारमा पार्टी केन्द्रको निर्देशनमा प्रदेश कमिटीले निर्णय गरेर सोडारीलाई सबै जिम्मेवारीबाट हटाइएको थियो ।

सोडारीविरुद्धको उजुरी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मै उजुरी पुगेको थियो । त्यसबेला सोडारीलाई बर्खास्त गर्ने विषयमा बालुवाटरमा दुई अध्यक्षसहित नेता नेपालसँग पनि छलफल भएको थियो । उनी ‘यौनजन्य हर्कत’मा फसेको र अडियो नै बालुवाटार आइपुगेपछि मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रधानमन्त्री ओलीले नै हटाउन ठाडो निर्देशन दिएका थिए । स्रोतका अनुसार सोडारीका विषयमा प्रधानमन्त्री ओली पहिलेदेखि नै सन्तुष्ट थिएनन् । सोडारी निकटस्थ स्रोतका अनुसार उनी माले पृष्ठभूमिका हुन् र सुरुमा वामदेव गौतम निकट मानिन्थे ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार