काठमाडौँ, १४ साउन । दोस्रो चरणको स्थानिय तह निर्वाचनबाट सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका असिम राई ठगी मुद्दामा फसेका छन् ।

चुनाव जितेपछि लगत्तै उनको ठगी प्रकरण पर्दाफास भएको हो । राई माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका राई कहिले काठमाडौँ त कहिले सोलुखुम्बु गर्दै लुकीलुकी हिँडिरहेको पीडितहरुले बताएका छन् । कानुनतः अदालतमा मुद्दा विचाराधीन रहेका अभियुक्त निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नुअगाडि कसैले सप्रमाण उनीविरुद्ध उजुरी हालेको भए त्यो बेला नै उनको उम्मेदवारी खारेज हुन्थ्यो । तर, कसैले उनको ठगी मुद्दाबारे त्यतिबेला पत्तै पाएनन् । जब निर्वाचन परिणाम आइसकेपछि थाहा पाए, उनलाई मत दिने मतदाता समेत चुकचुकाउन पुगे । राईले ३२ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा चार जनाले ठगी मुद्दा हालेका छन्, जुन मुद्दाको अझै फैसला भएको छैन । काठमाडौंको गोंगबुमा राईले युनिक बचत तथा ऋण सहकारी संस्था चलाउँदै आएका थिए । सो सहकारीको अध्यक्ष उनी आफैं थिए । आफू पर्दापछाडि बसेर राजधानीमै फालिङो भन्ने अर्को सहकारी पनि चलाएका थिए । त्यसको अध्यक्षचाहिँ ब्रिटिस क्याम्पमा महिनाको ७० हजार तलब खाएर काम गर्दै आएका बिगेश्वर राई भन्ने व्यक्तिलाई बनाएका थिए । यी दुइटा सहकारीबाट उनले सेयरहोल्डर र बचतकर्ताको झन्डै १० करोड रुपैयाँ ठगेको बताइन्छ । रकम डुबाएपछि उनी भागेर गाउँ बस्न थालेका थिए । पैसा ठगेपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी र जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौं उजुरी दिएका थिए । प्रहरीले उनलाई दसैंको मुखमा समेत गरी तीनचोटि पक्राउ गरेपछि केही पीडितहरूको पैसाा फिर्ता दिए पनि धेरैको नफर्काएपछि पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । हाल माओवादी केन्द्रमै आबद्ध भोजपुरका राम राईसँग ७ लाखको कागज गरे पनि उनले अझै त्यो पैसा नपाएको बताइन्छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार