काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी थिइन् । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेकाा पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।

यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते)मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए । अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।

बिहीबार अपरान्ह मन्त्री गुरुङले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएका छन् । उनले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रहेको नकारात्मक परिपाटीलार्ए अन्त्य गर्दै सकारात्मक परिपाटीको सुरुवात गर्न लागिपर्ने बताए ।

मन्त्री गुरुङले कर्मचारीबाट गलत ढंगबाट सूचना दिने र सल्लाह दिने कार्य गरिएमा त्यो स्वीकार्य नहुने बताउँदै गलत मनसाय राखेर सूचना तथा सल्लाह दिनेलाई पहिचान गरेर अघि बढिने बताए । उनले भने, अब कुनै पनि मन्त्रालयले सूचना लुकाएर बस्नु हुँदैन । पत्रकारको काम पत्रकारले गर्नुहोला तर वानडोर सिस्टमबाट सूचना लैजानुपर्छ ।’

नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनको भनाइ छ । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाइ छ । प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने बताए ।

उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए । श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठ सँगै विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार