काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सुपथ मूल्यको खसीबोका बिक्री शुरु गरेको छ । खाद्यको प्रादेशिक कार्यालय तथा बिक्री शाखा थापाथलीमा सोमबारबाट शुरु भएको बिक्रीवितरणमा सर्वधारण उपभोक्ताहरुको भीड लागेको छ ।

सर्वसाधारणकै लागि भनेर सुपथ मूल्यमा खसीबोका उपलब्ध गराएको खाद्यले पहिलो दिनमा नै थेक्नै नसक्ने गरी उपभोक्ताहरुको चाप लागेको बताएको छ । ‘यतिखेर थापाथली बिक्री केन्द्रमा सर्वसाधारण उपभोक्ताहरुको अत्यधिक भीड लागेको छ ।

खसीबोका किन्नकै लागि सर्वसाधारणहरु तँछाडमछाड गर्दैछन् । भीडलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसैमा हम्मेहम्मे परिरहेको अवस्था छ,’ खाद्यका प्रवक्ता शर्मिला न्यौपाने अधिकारीले भनिन् । अधिकारीका अनुसार खाद्य कम्पनीले बाहिरी बजार भन्दा निकै सस्तोमा खसीबोका उपलब्ध गराएकाले उपभोक्ताहरुको उच्च चाप बढेको हो ।

त्यसो त खाद्यले यस वर्षका लागि खसीबोकाको बिक्री मूल्य प्रतिकेजी ५५० रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ५६० रुपैयाँ प्रतिकेजी तोकिएपनि सहुलियतका लागि खाद्यले प्रतिकेजी १० रुपैयाँ छुट दिएको हो ।

यसपटक कुल एक हजार गोटा खसीबोका बिक्रीवितरण गर्ने योजना बनाएको खाद्यले हाल ४०५ वटा खसीबोकाबाट बिक्री शुरु गरेको छ । बाँकी खसीबोका भने आज बेलुकासम्म आइपुग्ने प्रवक्ता अधिकारीले जानकारी दिइन् । यसरी नै उपभोक्ताहरुको चाप बढिरहे बजारको मागका आधारमा खाद्यले थप खसीबोका समेत ल्याउने तयारी गरेको अधिकारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार