काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९८० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २२८ जना पुगेको छ । त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् ।

नेपालमा कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार मात्रै ३ हजार ४३ जना संक्रमणमुक्त बनेका छन् । यस्तै सोमबार थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १३३७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको परीक्षण भएको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । दशैँअघिसम्म ४५ हजारको हाराहारीमा रहेका सक्रिय संक्रमित पछिल्लो समय भने निरन्तर घट्दो क्रममा रहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८८४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित कुल संक्रमितको ९.५ प्रतिशत मात्रै हुन् ।

काठमाडौंमा १ हजार ७ जना संक्रमित थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ८ हजार ६६७ जना, भक्तपुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल काठमाडौं उपत्यका र कास्कीमा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार