काठमाडौं । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा नलिने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए ।

सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् ।

प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्नेछ । उपत्यकामा रहेका धेरै ड्राइभिङ प्रशिक्षण केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्न लागेको भन्दै सेवाग्राहीलाई सिकाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार