काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् ।

नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

को को बाहिरिए ?

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

प्रधानमन्त्री केपी शर्मा ओली – रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो –उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव – श्रम तथा रोजगार
उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी –राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार