काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।

प्रधानमन्त्री ओलीले आफू जेठ २ मा फर्कन तयार रहेको भन्दै पार्टी एकताको प्रस्ताव राखे । तर, उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्व शर्तसमेत राखे ।

प्रधानमन्त्रीसँग छलफलमा सहभागी माधव पक्षका नेताहरुले आफ्नो समूहमा यसबारे छलफल गर्ने भनेपछि प्रधानमन्त्री ओली सकारात्मक जवाफ आउने प्रतिक्षामा थिए । तर, बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले संसद विघटन गरेकोमा आत्मालोचना गर्नुपर्ने, अन्यथा हस्ताक्षर फिर्ता नहुने माधव पक्षका नेताहरुले सोमबार जवाफ पठाएकाले अब एकताको सम्भावना लगभग टरेको छ ।

योसँगै सत्तारुढ एमालेको आन्तरिक एकता प्रक्रियाका लागि भएको प्रयास निरर्थक बन्ने संकेत देखिएको छ। यद्यपि उनीहरुले एकता प्रक्रियाबाट पछि नहट्ने भन्दै छलफललाई निरन्तरता दिने दाबी भने गरि नै रहेका छन् ।

असन्तुष्ट माधव नेपाल पक्षले एकताप्रति अध्यक्ष ओलीलाई नै चासो नभएको बताउँदै आएको छ । जिम्मेवारीको हिसावले पनि अध्यक्ष ओली लचक र इमान्दार हुनुपर्नेमा त्यसविपरीत ओलीको व्यवहार देखिएको माधव पक्षका नेताहरुको भनाइ छ ।

‘ओलीजी आफैं अध्यक्ष र प्रधानमन्त्री भएको हिसावले उहाँ सबैभन्दा लचिलो, जिम्मेवार र इमान्दार हुनुपर्ने हो । तर, उहाँलाई नै सकभर पार्टी एकता नभइदिए हुन्थ्यो भन्ने चाहना छ’, असन्तुष्ट पक्षका नेता युवराज ज्ञवालीले रातोपाटीसँग भने, ‘राजेन्द्र महतो र महन्थ ठाकुरलाई लिएर देश चलाउने तर, माधव नेपाल झलनाथ खनाल लगायतको पंक्तिलाई एकतावद्ध पार्न नचाहने गलत दृष्टिकोण र मनसायले काम गरेको छ । त्यसले गर्दा उहाँ कहाँबाट र कसरी सञ्चालित हुनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’

यता वार्तामा बस्दै आएका अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ अहिलेसम्म भएको वार्ताको प्रगति ‘निरन्तर छलफल’ बाहेक अरु केही नभएको बताउँछन् । उनको यो भनाइबाट पनि एमाले एकता प्रक्रियामा कुनै प्रगति नभएको भन्ने बझ्न सकिन्छ ।

सर्वोच्च अदालतले कर्णालीमा कारवाही परेका प्रकाश ज्वाला लगायतका चारजना नेता माधव पक्षका सांसदहरुको कारवाहीलाई बदर गरिदिएको थियो । तर, अदालतको यो निर्णय खारेज हुनुपर्ने माग गर्दै ओली पक्षले अदालतमा भ्याकेटको निवेदन दिएपछि नेपाल पक्ष झस्किएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार