काठमाडौं, २० भदौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रायोजनका लागि दल दर्ताको निवेदन दिएका राजनीतिक पार्टीहरुको आधिकारिकता अध्ययन थालेको छ ।
१र२ दिनभित्रै चुनावमा भाग लिन योग्य दलहरुको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन उपर जाँचबुझ भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले भने, ‘१र२ दिनमै दलहरुको सूची सार्वजनिक हुनेछ ।’
चुनावमा भाग लिन योग्य दलहरुको सूची बनेपछि उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता ढकालले बताए । यसपटक आयोगलाई राप्रपा प्रजातान्त्रिक र राष्ट्रिय जनता पार्टीलाई चुनाव चिन्ह प्रदान गर्न समस्या देखिएको छ । पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले हलो चुनाव चिन्ह मागेको छ । यसअघि पार्टी एकीकरणका बेला ‘होल्ड’मा राखिएको हलो चिन्हमा प्रकाशचन्द्र लोहनीले पनि दाबी गरेका छन् । यस्तै, राजपा नेपालले छाता चुनाव चिन्ह मागेको छ । छाता चिन्ह यसअघि संघीय समाजवादी पार्टीको थियो । अशोक राईको सो पार्टी उपेन्द्र यादवको फोरम नेपालसँग मिलेपछि छाता चिन्हबारेमा अहिले अदालतमा मुद्दा बिचाराधीन छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार