
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ ।
सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।
पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकार चलाइरहेका छन् । त्यसमा पनि एक जना भने राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ ।
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटकपटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आएका छन् । उनले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको सूची दिन नेताहरूलाई आग्रह गरिरहेका छन् ।
मंगलबारसमेत प्रधानमन्त्री देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सरकार विस्तारबारे छलफल गर्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न पठाएका थिए । खड्काले दाहालसँग माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए ।
‘प्रधानमन्त्रीले मन्त्रीका लागि गठबन्धन आबद्ध दलका नेताहरूसँग पटकपटक नाम मागिसक्नुभयो, उहाँहरू आफ्नो आन्तरिक किचलो र व्यवस्थापनको विषयलाई सरकारमा जोडेर नाम दिन ढिला गरिरहनुभएको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।
तर, गठबन्धनआबद्ध माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको दल जसपाले मन्त्रीका आकांक्षी धेरै भएको र संख्यासमेत बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आइरहेका छन् ।
‘माधवजी र उपेन्द्रजीहरूको माग अली बढी छ, उहाँहरूमा नै समस्या भएको छ, उपप्रधानमन्त्रीमा पनि बार्गेनिङ भइरहेको छ,’ एक नेताले भने । स्रोतका अनुसार नेकपा एस र जसपाले कांग्रेस र माओवादी केन्द्रको बराबर संख्यामा मन्त्री मागिरहेका छन् ।
तर, संविधानले नै मन्त्रीको संख्या २५ भन्दा बढाउन नपाइने गरेर निर्धारण गरेकाले उनीहरूको माग पूरा गर्न प्रधानमन्त्री सक्ने अवस्थामा छैनन् ।
यस्तै, जसपा अध्यक्ष यादवको बार्गेनिङ उपप्रधानमन्त्रीमा समेत छ । तर, प्रधानमन्त्री देउवा यसपटक मन्त्रिमण्डलमा उपप्रधानमन्त्री राख्ने सोचमा छैनन् । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री राख्दा आफ्नै दलभित्रको गुटलाई पनि मिलाउन सकस पर्नेछ ।
यस्तै, माओवादी केन्द्रबाट पनि उपप्रधानसहितको मन्त्री राख्नुपर्ने अवस्था आउँछ । त्यसो गर्दा सरकारमा चार जनाभन्दा बढी उपप्रधानमन्त्री राख्नुपर्ने र त्यसो गर्न देउवाले चाहेका छैनन् ।
हाल सरकारमा प्रधानमन्त्रीसहित कांग्रेसबाट गृह र कानुनमा फुल मन्त्री छन् । यस्तै स्वास्थ्यमा एक राज्यमन्त्रीसमेत कांग्रेसबाट सरकारमा चार जनाको सहभागिता छ ।
यसैगरी माओवादी केन्द्रबाट सरकारमा अर्थ र ऊर्जामन्त्री सहभागी छन् । अब भने संख्या पहिले टुंगिएपछि कुन कुन मन्त्रालय लिने भन्ने विषयमा पनि दलहरूबीच विवाद हुने अवस्था छ ।
जसपाले भौतिक र परराष्ट्र मन्त्रालय चाहिरहेको छ भने माधवकुमार नेपालको दलले स्वास्थ्य र उद्योगसहित शक्तिशाली मन्त्रालयमा नजर लाइरहेको छ । यसैगरी, अन्य प्रभाव राख्ने मन्त्रालयमा पनि गठबन्धन आबद्ध दलको नजर परिरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




