काठमाडौं, ३० भदौ । बिशाल समूह र गोल्छा समूहले संयुक्त रुपमा श्रीराम सुगर मिल्स चलाउने भएका छन् ।
कम्पनीमा ५३ प्रतिशत सेयर स्वामित्व रहेको गोल्छाले २३ प्रतिशत सेयर बिशाल समूहलाई बिक्री गरेको छ । नेपालमा बिशाल समूहलाई अग्रवाल समूह भनेर समेत चिनिन्छ । बिशाल समूहका जगदिश प्रसाद अग्रवाल, त्रिलोक चन्द अग्रवाल, तुल्सीराम अग्रवाल र अशोक कुमार अग्रवाल लगायतको संलग्नता बिशाल बजारमा रहेको छ । सन् १९९२ मा रौतहटबाट सञ्चालनमा आएको यो उद्योगको हाल प्रतिदिन उखु पेल्ने क्षमता ३ हजार टन बराबर रहेको छ । कम्पनीबाट प्रतिदिन ४० किलो लिटर डिष्टिलरी (स्प्रिट तथा एक्स्ट्रा न्युट्रल अल्कोहल) समेत उत्पादन हुँदै आएको छ । कम्पनी नोक्सानमा जाँदा र किसानहरुलाई भुक्तानीमा ढिलाईको कारण कम्पनीमा पर्याप्त उखु उपलब्ध हुन छाडेपछि कम्पनी थप नोक्सानमा देखिदै आएको छ । हाल कम्पनीको संस्थापकको ९१ प्रतिशत र सर्वसाधारण समूहको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । ९ प्रतिशत सेयर स्वामित्वमा पनि लगभग ३ प्रतिशत सेयर वेरुजु अर्थात् रकम उठ्न बाँकी रहेको देखिएको छ । १० वर्षयता कम्पनी नोक्सानमा छ भने ४ वर्षदेखि भने कम्पनी सञ्चालन नोक्सानमा समेत रहेका छन् । हाल कम्पनीले ११ करोड रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले बिक्रीबाट भने ३६ करोड आम्दानी गरेको छ ।

सन् २०१० मा अन्तिम पटक कारोबार भएर त्यसयता कारोबार हुन नसकेको कम्पनी ले गत वर्षको असोज २ गतेबाट पुनः कारोबार गरेको थियो । कम्पनी त्यसयता यदाकदा कारोबारमा आउने गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार