पोखरा, ३० भदौं । तीन पर्यटकीय शहर पोखरा, भरतपुर र भैरहवा हवाईमार्गबाट जोडिएका छन् ।
बुद्ध एयरले काठमाडौं बाहिरबाट बाहिरकै बिमानस्थलका लागि शुक्रबार पहिलोपटक पोखरा–भरतपुर र पोखरा–भैरहवामा उडान थालेसंगै तीन पर्यटकीय नगरी शहर हवाई मार्गबाट जोडिन पुगेको हो ।
बुद्ध एयरले पहिलो उडान पोखरा–भरतपुर गरेको थियो । भरतपुरबाट पोखरा फर्किएर उक्त जहाज फेरि भैरहवाका लागि उडेको थियो । पोखराबाट भरतपुर पुग्न जहाजलाई ११ मिनेट लागेको थियो । यसैगरी पोखराबाट भैरहवा २० मिनेटमा पुगेको थियो । बुद्ध एयर पोखराका प्रबन्धक गौतम बरालका अनुसार पोखरा–भरतपुर ३ हजार ६ सय ५० र पोखरा–भैरहवाका लागि ४ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ । दुवै स्थानमा १८ सिट क्षमताको वीचक्राफ्ट जहाजबाट यात्रुलाई सेवा दिने एयरले जनाएको छ । यससँगै हवाई यात्रुलाई थप सहज भएको छ । बुद्ध एयरको उडानसँगै पर्यटकीय क्षेत्र सौराहा र लुम्बिनी पुग्ने तथा त्यताबाट पोखरा आउने पर्यटकलाई ठूलो राहत मिल्नेछ । पछिल्लोपटक मुग्लिन–नारायणगढको बाटोको अवस्थाले आजित सवसाधारणसमेत लाभान्वित हुनेछन । उडानले मुख्य पर्यटकीय गन्तव्यबीच कनेक्टिभिटी भएर पर्यटक बढ्नेमा पर्यटन व्यवसायी आशावादी देखिएका छन् । ‘तीनवटै गन्तव्य (पोखरा, चितवन र भैरहवा) बाट स्थलमार्गबाट आवातजावतमा ठूलो समस्या भइरहेका बेला बुद्धको यो उडानले ठूलो अर्थ राख्नेछ,’ पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भने, ‘सुरक्षित उडानसंगै समयको पनि बचत हुने भयो । त्यो भन्दा पनि ठूलो कुरा खर्चालु पर्यटकको आवागमन भएर पर्यटन क्षेत्रमा ठूलो राहत मिल्नेछ ।’ भैरहवाबाट भारतीय पर्यटक सिधै पोखरा आउनसक्ने वातावरण पनि मिलेको भन्दै उनले दुवै पर्यटकीय गन्तव्य भएकाले उडानलाई जसरी पनि टिकाउ बनाउनुपर्नेमा सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । भारतीय पर्यटकले सिद्धार्थ राजमार्ग र मुग्लिन नारायणगढको सडकको अवस्था नाजूक भएको भन्दै सडकको स्तरोन्नति गर्न या हवाई सेवा बिस्तारको माग गर्दै आएका थिए । यी उडानले भारतीय पर्यटक सहजै पोखरा आउने विश्वासमा पोखरेली पर्यटन व्यवसायी छन् ।
२०१३ सालदेखि संचालनमा आएको पोखरा बिमानस्थलबाट सुरुमा भैरहवा उडान हुन्थ्यो । सिद्धार्थ राजमार्गको निर्माणसंगै यो हवाई रुट बन्द भएको थियो । १७ वर्षअघि सांग्रिला एयरले भैरहवाका लागि उडान गरेको भए पनि केही समयमै बन्द भएको थियो । यसैगरी २०४८ सालमा नेपाल एयरवेयजले पोखराबाट भरतपुरका लागि उडान गरे पनि छोटो समयमै बन्द भएको थियो । तीन दशक अघि नेपाल बायुसेवा निगमले पनि पोखरा भरतपुर उडान गरेपनि केही समयपछि बन्द भएको थियो ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार