ललितपुर । सत्ता गठबन्धनको तर्फबाट ललितपुर महागनरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । नितर्वमान मेयर महर्जनले फेरि उम्मेदवारी दिएका हुन् ।

उनले ०७४ को चुनावमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई सामान्य मतान्तरले पराजित गरेका थिए । एमालेले पनि फेरि व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । अर्थात् यसपटक पनि ललितपुर महानगरमा पुरानै प्रतिस्पर्धा हुने भएको छ ।

०७४ सालको चुनावमा २४ हजार ६४२ मत ल्याएर महर्जन मेयर निर्वाचित हुँदा व्यञ्जनकार ३२६ मतान्तरले पछि परेका थिए । पुरानै प्रतिस्पर्धा दोहोरिएको ललितपुरमा सोमबार मनोनयन दर्तापछि दुवै उम्मेदवारले आफ्नो जित पक्का भएको बताएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले गत चुनावमा एमाले र राप्रपाको गठबन्धनविरुद्ध एक्लै लडेर जितेकाले यसपटक थप सजिलो रहेको प्रतिक्रिया दिएका छन् ।

महर्जनले जस्तै दावी व्यञ्जनकारले पनि गरेका छन् । निवर्तमान मेयर नै प्रतिस्पर्धामा उत्रिएकाले आफूलाई सजिलो भएको उनी बताउँछन् । मेयरका रुपमा महर्जनले जनतालाई सन्तुष्ट बनाउन नसककेको र एमालेप्रति जनविश्वास बढेको व्यञ्जनकार तर्क गर्छन् । तर बितेको चुनावी नतिजा र राजनीतिक समीकरण व्यञ्जनकारका निम्ति प्रतिकुलता देखिन्छ । ०७४ को चुनावमा साथ दिएको राप्रपा यसपटक विभाजित छ । राप्रपाबाट कमल थापाले विद्रोह गरेर राप्रपा नेपाल गठन गरेका छन् ।

यसपटक एमाले विभाजित भएको छ । तर एमालेले भने पार्टी विभाजनबाट पुगेको क्षति पूर्ति गरिसकेको तर्क गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतबाट प्रवेश गर्नेहरू बढेकाले एमाले यसपटक जित सुनिश्चित भएको दावी गरेको छ । मेयरमा सामान्य अन्तरले पराजित भएपनि ०७४ सालको चुनावमा एमालेले वडाध्यक्ष भने कांग्रेसभन्दा धेरै जितेको थियो । २९ मध्ये त्यो चुनावमा एमालेले १४, कांग्रेसले १० र माओवादी केन्द्रले ४ वडाध्यक्ष जितेको थियो ।

यसबाहेक एमालेको आशा नयाँ मतदाताप्रति छ । ०७४ सालको चुनावमा १ लाख १२ हजार ९२२ मतदाता थिए । यसपटक १० हजार २६८ मतदाता थपिएका छन् । नयाँ मतदाताप्रति गठबन्धनका उम्मेदवार महर्जनको पनि दावी एमालेसँग मिल्छ ।

यो भन्दा बलियो विश्वास भने यसपटक महर्जनलाई गठबन्धनका दलहरुको समर्थन गर्नु रहेको देखिन्छ । ०७४ सालको चुनावमा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार उठेका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए । यसपटक यो मत आफूले पाउने महर्जन बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार