काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन् ।

‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दुःखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना हो ।

सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला ।’ उनले भनेकी छन् ।

साथै उनले आफूले अहिलेसम्म क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम नलिएको बताएकी छन् । ‘बाँकी रह्यो पैसाको कुरा मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन । क्षतिपूर्तिबापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन ।

म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरूको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमासमेत सहयोग पुग्ने आशा लिएकी छु ।’ उनले लेखेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार