काठमाडौं । ललितपुरमा नेवारी समुदायको सबैभन्दा शक्तिशाली संगठन छ, ज्यापु समाज। त्यही समाजको अध्यक्ष भइसकेका प्रेमबहादुर महर्जन आफ्ना राजनीतिक सहकर्मी कृष्णलाल महर्जनलाई भारी मतले पराजित गर्दै सिंहदरबार प्रवेश गरेका छन्।

नेकपा एमालेबाट राजनीति गरेको ४० वर्षमा उनी पहिलो पटक सांसद भएका हुन्। उनी सोमबार बेलुका सकिएको प्रतिनिधि सभा अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ बाट भारी मतसहित विजयी भएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धन मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका बलियो उम्मेदवारलाई पनि हराउँदै उनले सिंहदरबारसम्मको यात्रा सुनिश्चित गरेका हुन्। देशभर गठबन्धनको घेराबन्दीमा रहेको एमालेबाट सानदार विजय हात पार्ने उनी एमालेको पहिलो नेता बनेका छन् ।

प्रेमबहादुरले १५०२५ मत ल्याई विजयी भए। यसअघिका २०५६ र २०७४ को चुनावमा कृष्णलाललाई सांसद बनाउन मरिमेटेर लागेका प्रेमबहादुरलाई यसपटक भने आफैँ उम्मेदवार बन्ने अवसर प्राप्त भयो। त्यसमा उनले बाजी मार्न सफल भए ।

त्यसो त कृष्णलाल एमाले छोडेर नेकपा एकीकृत समाजवादी नगएका भए यसपटक पनि प्रेमबहादुरले अवसर पाउने सम्भावना कम थियो। अहिले कृष्णलालले छोडेपछि प्रेमबहादुरले चुनाव लड्ने मौका पाए र जिते पनि।

तर, प्रेमलालको प्रतिस्पर्धी भने लौरो चिन्ह लिएका सुदिन शाक्य भए। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी भयो। कृष्णलाल चौथो स्थानमा पुगे। यसपटक चुनाव लड्नै नचाहेका कृष्णलालले नराम्रो पराजय व्यहोरेका छन् ।

ललितपुर महानगरपालिकाका ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौ वटा वडा । महालक्ष्मी नगरपालिकाका १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ५२ हजार मत खसेको थियो।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार