तनहुँ । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) ठ्याक्कै एक वर्षमा थुनामुक्त भएका छन् ।
नाबालिक बलात्कारको आरोप लागेपछि अघिल्लो वर्षको फागुन १५ गते नै पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । कागजी प्रक्रिया पूरा गरेर पल रिहा भएका हुन् । पललाई रिहा गर्न बहिनी रोशनीले कागजमा हस्ताक्षर गरेकी थिइन् ।

उनलाई स्वागत गर्न संगीतकार योगेशकाजीसहित केही फिल्मकर्मी कारागार पुगेका थिए । उनी रिहा भएको हेर्न तनहुँ कारागारबाहिर सर्वसाधारणको भीड लागेको छ । कपाल छोटो बनाएको र कालो ज्याकेटमा बाहिर निस्कँदा फ्यानले पलको पक्षमा नाराबाजी समेत गरेका थिए ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार