काठमाडौँ । एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।

क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् । यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो ।

पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा यो कीर्तिमान राखेका थिए । पुर्जा अहिले सबै १४ वटा हिमाल बिना अक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने प्रयासमा रहेका छन् । विश्वका ४० भन्दा बढी पर्वतारोहीहरूले विश्वका सबैभन्दा अग्ला १४ वटा शिखरको आरोहण गरेका छन् ।

यसमध्ये थोरै मात्र महिला रहेका छन् । ३७ वर्षीया हारिला सशक्त पर्वतारोही भए पनि यो अभियानका लागि प्रायोजक पाउनै उनलाई धौ–धौ परेको थियो । यसका लागि उनले आफ्नो अपार्टमेन्ट नै बेच्नुपरेको थियो ।

हारिला नर्वेको उत्तरमा रहेको भास्डोकी बासिन्दा हुन् । त्यहाँको सबैभन्दा अग्लो भूभाग भनेको मात्र ६३३ मिटरको रहेको छ । त्यसैले उनले सानैदेखि पर्वतारोहण सुरु गरेकी होइनन् । फुटबल, ह्यान्डबल र क्रस कन्ट्री दौडमा सहभागी भएकी उनी सन् २०१५ मा तान्जानियाको किलिमन्जारो पुगेपछि मात्र पर्वतारोहण सुरु गरेकी हुन् ।

उता तेन्जिन भने १६ वर्षको उमेरदेखि गाइडको रूपमा काम गर्दै आएका छन् । उनी यो अभियानमा हारिलाको महत्त्वपूर्ण सहयोगीका रूपमा रहेको उनको टीमले आफ्नो विज्ञप्तिमा जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार