काठमाडौं । वैदेशिक रोजगारीका लागि गएका तीनजना नेपालीलाई टर्कीबाट अपहरण गरी फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले उनीहरुलाई काठमाडौंको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका– ३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने ३० वर्षीय राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएकाले लुकीछिपी उनीहरु टर्की प्रवेश गरेकाथिए । त्यस क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति र उसका सहयोगीले उनीहरुलाई अपहरण गरेका थिए।

डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना तथा डर त्रास देखाई, ज्यान मार्ने धम्की दिएर पीडितहरुको नेपालका परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरेका थिए। त्यसबारे पीडितका आफन्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

उनीहरुले ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न चारै जनालाई भदौ २ गते काठमाडौंको गौरीघाटस्थित कोठाबाट फिरौती रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो। टर्कीमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्दार गर्न प्रहरी सफल भएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार