काठमाडौं, २१ मंसिर । जिल्लाका सबै साथीभाइ र परिवारजन मतदानको तयारीमा रहँदा गुल्मीका बमबहादुर रोका मगर संयुक्त अरब इमिरेट्स(युएई) मा रोजगारीका लागि उड्न आज त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा पुगे ।
दिउँसो १ः३० बजे विमानस्थलमा भेटिएका रोकामगर यातायात नचलेपछि दुई घण्टाको हिँडाइपछि विमानस्थल पुगेका थिए । तन विदेशको यात्रामा लागेपनि उहाँको मन भने गाउँमा भइरहेको निर्वाचनमै थियो । उनले छिनछिनमा गाउँमा भइरहेको मतदानबारे मोबाइलबाट जानकारी लिइरहेका थिए ।
‘संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलोपटक मतदान गर्ने तीव्र इच्छा थियो तर आजै दुबई उड्नुपर्ने बाध्यताले सहभागी हुन सकिनँ, असाध्यै दुःख लागेको छ ।’ उनले सुनाए ।
अपराह्न ४ः३० बजेको इत्तेहाद एयरबाट दुबई जान लागेका रोकामगरलाई एकातर्फ मतदान गर्न नपाएकामा खिन्नता थियो भने अर्कोतर्फ विमानस्थलसम्म हिँडेर पुग्दाको सास्ती थियो ।
नयाँ बसपार्क (गोंगबु)बाट तीनघण्टा पैदल हिँडेर विमानस्थल पुगेका चितवनका प्रभु साहलाई पनि मतदान गर्न नपाएकोमा दुःख लागेको छ ।
अपराह्न साउदी अरब जाने तयारीमा रहेका साहले भने, ‘के गर्नु ? आजैका दिन उडान प¥यो । भोट हाल्न नपाएकामा असाध्यै दुःख लागेको छ । नियतिले विदेशिनुपर्ने बाध्यता आइलाग्यो ।’
उनीजस्तै सयौँको संख्यामा वैदेशिक रोजगारीका लागि जानेहरुले आज निर्वाचनका दिन सार्वजनिक यातायातको अभावमा कष्ट झेले ।
विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दैनिक एकहजार दुई सयदेखि एकहजार पाँच सयको हाराहारीमा नेपाली युवा खाडीसहितका विभिन्न मुलुक जाने गरेका छन् ।
मतदानकै दिन मलेसिया उड्ने तयारीमा रहेएका सिरहाका धनकुमार यादव पनि पहिलो पटक मतदान गर्न नपाउँदा चिन्तित थिए ।
परिवारको साथ भन्दा पनि मतदान गर्न नपाएकामा दुःख लागेको अनुभव सुनाउँदै उनले विदेशको पैसाभन्दा पनि भोट ठूलो लागेको भए पनि बाध्यताले विदेशिनुको विकल्प नभएको बताए ।
मोरङका अर्जुन राम पनि मलेसिया जाने तयारीमा विमानस्थलमा भेटिए । टाढादेखि हिँडेर आउँदाको थकान उनमा पनि प्रष्टै देखिन्थ्यो । ‘उमेरले पनि पहिलो पटक भोट हाल्ने अवसर दिलाएको थियो । तर, पनि बाध्यता भोट खसाल्न पाइनँ । देशमा रोजगारीको अवसर छैन । अबको नेतृत्वले काम गरेर खाने अवसर दिलाइदिए हुन्थ्यो । यसरी कतिञ्जेल झोला बोकेर हिड्ने ?’
वैदेशिक रोजगारीमा गएका कतिपय आज विमानस्थलमा ओर्लिए र उनीहरुलाई गन्तव्यसम्म पुग्न सवारीसाधन नभएर समस्या भएको देखियो ।
दुबहीबाट काठमार्डौँ आएकी देवकी सुवेदी अपरान्ह सवारीसाधनको पर्खाइमा विमानस्थलमा छट्पटाउँदै थिईन् । सुटकेस घिसार्दै विमानस्थलको बाहिर सडकमा हिँडिरहेही सुवेदीले भनिन्, ‘अब कसरी जाने ? थानकोट पुग्नुपर्ने ट्याक्सीले कलंकी सम्मको तीन हजार मागे । आधा बाटो हिँडेर कसरी घर पुग्ने हो ?’
मलेसियाबाट फर्किएका काठमाडौँका अंशु भण्डारी पनि सवारी साधन नपाएर सडकमै सुटकेस घिसारेर विमानस्थलको द्वारबाट बाहिरिँदै गरेको अवस्थामा भेटिए ।
सरकारले निर्वाचनलाई ध्यान राखेर सार्वजनिक गएराति १२ बजेदेखि आज मतदान हुने दिन साँझ ७ः०० बजेसम्म सवारी चलाउन निषेध गरेको थियो ।
पर्यटक यात्रुलाई पर्यटक बसको व्यवस्था गरिएको भएपनि अन्य यात्रुलाई विमानस्थल जान र घर फर्कन चाहने यात्रुलाई समस्या भयो ।
अन्तर्राष्ट्रिय उडान नियमित भएपनि तुलनात्मकरुपमा आज विमानस्थलमा यात्रुको चहलपहल निकै कम थियो । अन्तर्राष्ट्रिय उडान तालिकाअनुरुप नियमित भइरहेको भएपनि यात्रुको संख्या अत्यन्तै न्यून रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार आन्तरिकतर्फ आज करिब ८० प्रतिशत उडान कटौती भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




