काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छिन् ।

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा.देवकोटालाई आज अपराह्न टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
डा.देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिनुभएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा.देवकोटाको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्वमन्त्री डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार