बझाङ, मंसिर २९ – महिनावारी हुँदा महिलालाई गर्ने विभेद बझाङ जिल्ला भर व्याप्त रहेको भए पनि कुनै गाउँका महिलाले साहसपूर्वक खुलेरै छाउपडी प्रथाको विरोध गर्न थालेका छन् । सदियौँदेखि रहेको छाउपडी अन्धविश्वास तोड्न साहस गर्ने महिलाहरुलाई विभिन्न संघ संस्थाहरुले सम्मानित पनि गर्ने गरेका छन् ।

तलकोट गाउँपालिका वडा नं. १ बेडालाकी प्यारीदेवि बम पहिलोपटक १४ वर्षको उमेरमा महिनावारी हुनुभएको थियो । उहाँले जीवनका ३५ वर्ष हरेक महिनाको ७ दिन गोठमै बसेर बिताउनुभयो । गोठमा बस्दा उहाँले भोगेको दुःख बताएर साध्य छैन् । उहाँ भन्नुहुन्छ ‘कसैले पानी भाँडोमा राखिदिएन भने तिर्खा लागेको बेला पानी पनि खान पाईँदैन थियो ।’ लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उहाँका हातखुट्टा सुन्निने गर्छन् । बम धेरै दिन त गाउँमा भएको छाउपडी गोठ भत्किँदा पालमा बस्नु परेको थियो ।

गाउँभन्दा धेरै टाढा रहेको एक मात्र साँघुरो छाउगोठमा कहिले गाउँभरिका महिला बस्न ठाउँ नहुने । कहिले एक्लै डराइ डराई बस्नुपर्ने । गोठमा ठाउँ नभएको दिन खेतको भित्तामा पाल टाँगेर बसेको, वर्खा याममा शरीरमै सर्प खसेको, कमिलाले टोकेको, मदिरा सेवन गरी छाउगोठमा गिद्धी नजर लगाउने जस्ता तिता सम्झना बमको दिमागमा अझै पनि ताजा छन् ।

महिनावारी भएको समयमा घर नजिक आउनु हुँदैन । पानीका धारा छुनु हुँदैन । देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजमा सुरुमा घर भित्र बस्दा समाजले कम्ति कुरा काटेन् । उमेर पाक्दै जाँदा छाउपडी प्रथा महिला माथीको हिंसा हो भन्ने बुझ्दै गएकी तल्कोट गाउँपालिका १ भाटगाउँकी डल्ली विकले समाजमा यस्ता कुरा काट्दा सुनेको नसुने झै गर्नुभयो । आफूले महिनावारी हुँदा भोगेको पिडा आफ्नो नातिनीले भोग्न नपरोस भन्ने उहाँलाई लागेको छ ।

‘मेरो घरमा कोही पनि छैनन् । सम्पतिका नाममा एउटै नातिनी मात्रै छे । हुन त, घर नजीकै देउताको मन्दिर पनि छ । समयमै बुद्धि आएन, त्यसैले महिनावारी हुँदा मैले धेरै पीडा खेप्नु परेको थियो । समाजले भनेको कुरामा नै विश्वास गरे । तर अहिले विभन्न संघ संस्थाहरुले गाउँमा जनचेतना फैलायो, त्यसपछि घरमै बस्नुपर्छ भन्ने सोच आयो र मैले मेरो नातिनीलाई घर भित्रै बसाल्ने गरेकी छु । गाउँका केही मान्छेले अहिले पनि महिनावारी भएको समयमा आफ्नो छोरा बुहारीहरुलाई गोठमा नै बसाल्ने गरेका छन् । तिनीहरु नै कुरा काटी राखेका छन्, मैले वास्ता नै गरेकी छैन । गाउँका धेरैले श्रीमान बित्नुको मुख्य कारण छाउ भएका बेला नातिनीलाई घर भित्रै राख्नु हो भन्छन्, तर म विश्वास गर्दैन ।’

उहाँले अघि भन्नुभयो ‘दुई वर्षभन्दा पछि महिनावारी भएको समयमा घर भित्रै बस्छु । न देवी देउता रिसाएका छन् । नत घरमा नै केहि भएको छ । यो त खाली अन्धविश्वास मात्र रहेछ ।’ विकले भन्नुभयो –‘हाम्रो सिको गर्दै अहिले गाउँका धेरै महिला घरभित्र बस्न थालिसकेका छन् । अहिलेसम्म कसैलाई केही भएको छैन ।’

एकपछि अर्काे गर्दै महिलाहरुले घर भित्र बस्ने र साविकको झै खानेकुराहरु खाने गर्न थालेपछि अहिले यहाँका धेरै जसो महिलाहरुले छाउपडी बार्न छोडेको बताउनुहुन्छ तल्कोट गाउँपालिकी जलु खाती । ‘छाउ भएको समयमा दही दुध खाँदा गाई भैँसी बिग्रने, गाई भैँसीले दूध नै नदिने, सन्तान नहुने भन्ने चलन थियो, जलु खाती भन्न्ुहुन्छ–‘सुरुमा त निकै नै डर लागेको थियो । पहिला घर भित्र बस्यौ बिस्तारै दूध दही खान सुरु गर्याै । आखिर कसैलाई केहि पनि भएन ।’

लामो समयसम्म रुढीवादी परम्परालाई मान्दै दुःख खेपेकोमा यहाँका महिलालाई निकै पछुतो लागेको छ । ढिलै भए पनि छाउप्रथा भनेको नराम्रो हो भनेर बुझ्न पाएकोमा खुशी पनि छन् । स्थानीय खिन्तुरी ऐडी भन्नुहुन्छ– ‘अबदेखि हाम्रा छोरी बुहारीले हाम्रो जस्तो दुख भोग्नु नपर्ने भो ! यसैमा खुशी छौ ।’

छाउपडी प्रथा, मदिरा न्यूनिकरण र महिला हिंसा न्युनीकरणका लागि वडापालिकाले पनि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको तल्कोट गाउँपालिका १ का वडा अध्यक्ष गोपालबहादुर धामीले बताउनुभयो ।

महिनावारी हुँदा घर भित्र बस्ने ९ जना र साविक जस्तै खाना पनि खाने २ जना महिलालाई स्थानीय यूएमएन र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले सम्मान पनि गरेको वडा अध्यक्ष धामीले बताउनुभयो । सम्मानित भएका महिलाहरुले अन्य महिलालाई पनि छाउ प्रथासँग जोडिएको अन्धविश्वासको बारेमा सचेत गर्ने र छिट्टै वडालाई नै छाउ मुक्त गर्ने तयारी भैरहेको वडाअध्यक्षले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार