धनगढी, ३० चैत । घरेलु टोली टिम चौराहा धनगढी लगातार दोस्रोपटक रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को च्याम्पियन बन्न सफल भएको छ ।
साविकको विजेता घरेलु टोली चौराहाले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै लगातार दोस्रो पटक डीपीएल च्याम्पियन बन्न सफल भएको हो ।

टिम चौराहा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो । काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाएपनि टिमलाई जिताउन सकेन । टिम कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । २७ बल खेलेका मल्लले २ छक्का र १ चौका प्रहार गरे । सन्नी पटेल २२ रनमा बनाए । पुष्प थापा १५ रन तथा नरेश बुढाऐर १९ रनमा आउट भए । काठमाडौंका ओपनर ब्याट्सम्यान सुवोध भाटी व्यक्तिगत ५ रनमा आउट भएपछि काठमाडौं दवावमा आएको थियो ।

उत्कृष्ट बलिङ गरेका धनगढीका ललितसिंह भण्डारीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । ललितले सुवोध भाटी र ज्ञानेन्द्र मल्लको महत्वपूर्ण विकेट लिएको थियो । नरेश बुढाऐरलाई पनि आफ्नो शिकार बनाएको थियो । रोहन मुस्ताफाले २ तथा शम्साद शेख र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए ।

यसअघि संघीय प्रहारी इकाई कार्यालय धनगढीको खेल मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए । ६३ बल खेलेका धमलाले ८ चौका र ३ छक्का प्रहार गरे ।

अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन बनाए । ४२ बल खेलेका रोहनले समान ४ छक्का र प्रहार गरे । १२ रन जोड्दा पहिलो विकेट गुमाएको धनगढीको इनिङ्स सुनिल र रोहनले सम्हालेका थिए । सुनिल र रोहनले दोस्रो विकेटको लागि ९० बलमा १ सय ४२ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट भए । कप्तान सोमपाल कामी ८ रनमा नटआउट रहे । काठमाडौंका सुवोध भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए ।

उपाधि जितेपछि टिमका कप्तान सोमपाल कामीले फ्रेश विकेट भएकाले आफुले टस जितेर ब्याटिङ रोजेर सम्मानजनक स्कोर बनाउन सफल हुद जित हात पार्न सकिएका बताए । ‘बिहान पिच हेर्दा रन बढी बन्छ भन्ने थाहा थियो । टस जितन सके पहिले ब्याटिङ गर्ने योजना बनाएका थियौं । सोचेजस्तै भयो ।’ कप्तान सोमपालले भने, ‘दुई ब्याट्समयान सुनिल धमला र रोहन मुस्ताफाले सोचेजस्तै ब्याटिङ गरे । १ सय ८० रन भन्दा बढी बनाउन सक्यौं । बलरहरु राम्रो रहेका कारण पनि रोक्न सकिने अपेक्षा राखेका थियौ । सबैफिलडमा राम्रो प्रदर्शन भयो र जित हात पार्न सफल भयौं ।’ उनले मुस्तफा र धमलाको साझेदारी अनि ललितको उत्कृष्ट प्रदर्शनले टोलीलाई च्याम्पियन बन्न सफल भएको बताए ।
च्याम्पियन बनेको घरेलु टोली टिम चौराहा धनगढीले २५ लाख रुपैयाँ प्राप्त गरे । दोस्रो भएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैया प्राप्त ग¥यो । तेस्रो भएको महेन्द्रनगर युनाइटेडले ३ लाख तथा चौथो भएको सिवाइसी अत्तरियाले २ लाख रुपैया प्राप्त गरे । चैत १७ गतेबाट शुरु भएको राउन्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाएका थिए ।

ललित र मुस्ताफा उत्कृष्ट
उपाधि विजेता टिम चौराहा धनगढीका खेलाडीद्धय ललितसिंह भण्डारी र रोहन मुस्ताफा डीपीएल–२ को मोष्ट भ्यालुएबल खेलाडी र सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ललितले गोल्डस्टारको सुनको जुत्ता प्राप्त गरे भने रोहनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे । मोष्ट भ्यालुएबल खेलाडीका लागि आयोजकले निर्णायक कमिटि र फेसबुक भोटिङको साहरा लिएको थियो । जसमा ललितले आफ्नै टिमका सुनिल धमलालाई पछि पारेका हुन् । सुनको जुत्ताको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको छ ।

ललितले प्रतियोगितभर उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिन सफल भएका थिए । ललित नै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बने । प्रतियोगिताभर २६ ओभर बलिङ गरेका ललितले १३.२१ को औसतमा १ सय ८५ रन खर्चदै १४ विकेट लिन सफल भएका हुन् । उनले प्रतियोगिताको फाइनलमा ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै टिम चौराहा धनगढीकै रोहन मुस्ताफा डीपीएल–२ को सर्वाेत्कृष्ट खेलाडी बनेको छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेसँगै अलराउन्डर तथा युनाइटेड अरब इमिरेट्स (युएईं) का कप्तान समेत रहेका रोहनले एक तथा अपाचे आरटिआर मोटरसाइकल प्राप्त गरे । उनले टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निभाएका थिए ।

प्रतियोगिताको फाइनल खेलको म्यान अफ दि म्याच समेत बनेका रोहनले ६० रन बनाउनुको साथै २ विकेट लिन सफल भएका थिए । उनले प्रतियोगिताभर ६ खेलमा १ सय ९८ रन बनाउनुको साथै ९ विकेट लिन सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार