एजेन्सी – युरोपियन च्याम्पियन रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधिमा ह्याट्रिक गरेको छ । लगातार तेस्रोपटक उपाधि जित्ने क्रममा रियलले यूएईको अल आइनलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
रियलका लागि खेलको १४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा मार्कस लोरेन्टेले अग्रता दोब्बर पारे । सर्जियो रामोसले ७९ औं मिनेटमा रियललाई ३–० ले अगाडी बढाए ।

खेलको ४ मिनेट बाँकी रहँदा सुकासा सिओतानीले अग्रता कम गरे । तर इन्ज्युरी समयमा याह्या नादेरले आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।
रियलको यो समग्रमा चौथो क्लब विश्वकप उपाधि हो । यता रियलले शनिबारको जितसँगै प्रतियोगितामा सर्वाधिक जितको कीर्तिमान पनि आफ्नो नाममा राख्न सफल भयो ।
यसअघि बार्सिलोना र रियलले समान खेल जितेका थिए । मिडफिल्डर टोनी क्रुसले पछिल्ला ६ विश्वकपमध्ये ५ उपाधि आफ्नो नाम गरेका छन् । सन् २०१३ मा बायर्नबाट उपाधि जितेका क्रुसले सन् २०१५ बाहेकका सबै उपाधि जितेका छन् ।

त्यसअघि भएको तेस्रो स्थानको खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानको काशीमा एन्टलर्सलाई ४–० ले पराजित गर्यो ।
क्लब विश्वकपको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि रियलका ग्यारेथ बेलले जिते । उनले २ खेलमा ३ गोल गरेका थिए । सिल्भर बल अल आईनका कैओले पाउँदा ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले पाए । रियल म्याड्रिडले फेयर प्ले अवार्ड समेत जित्यो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार