एजेन्सी – कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा इवारलाई पराजित गरेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले इवारलाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ तथा कप्तान लियोनेल मेस्सीले एक गोल गरे ।
खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भएको थियो । स्वारेजले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । ५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले लुइस स्वारेजको पासमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । यससँगै मेस्सीले ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरे । ५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार