आवुधावी (एजेन्सी) – कतार एसियन कप फुटबलको नयाँ च्याम्पियन बनेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित जायद स्पोर्टस् सिटी स्टेडियममा शुक्रबार राति भएको फाइनलमा कतारले चारपटकको च्याम्पियन जापानलाई ३–१ ले पराजित गर्दै नयाँ च्याम्पियन बन्न सफल भएको हो । कतारलाई एसियन च्याम्पियन बनाउन अल्मोइज अली र अब्दुलाजिज हातिमले गोल गरे । जापानका ताकुमी मिनामिनोले एक गोल फर्काए ।
कतारले खेलको १२औं मिनेटमा अल्मोइज अलीको गोलबाट अग्रता बनाएको थियो । उनले अक्रम हसान अफिफको पासमा एक्रोबाइट प्रहार गर्दै टिमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा अब्दुलाजिज हातिमले गोल गरेपछि कतारले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
६९औं मिनेटमा जापानका ताकुमी मिनामिनोले गोल गर्दै खेललाई २–१ मा झार्दै जापानलाई खेलमा फर्काउने संकेत दिएका थिए । उनले युया ओसाकोको पासमा गोल गर्न सफल भएका थिए । तर, ८२औं मिनेटमा अक्रम हसान अफिफले पेनाल्टीमा गोल गर्दै कतारलाई ३–१ को जित दिलाउदै च्याम्पियन बनाए । कतारी फुटबलमा यो नै अहिले सम्मको सबैभन्दा ठुलो उपाधि हो ।
७९औं मिनेटमा जापानका माया योसिदाले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि कतारले पेनाल्टीको मौका पाएको थियो । जसमा अक्रम हसान अफिफ चुकेनन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार