एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि जित हासिल गर्दै फ्रेन्च क्लब लियोन यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार लिस्बनमा भएको खेलमा सिटीलाई ३–१ ले पराजित गर्दै लियोनले अन्तिम चारमा स्थान बनाएको हो ।
लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले गरेको गोल सान्त्वना बन्यो ।

२६औं मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो । एक गोलले पछि परेपछि सिटीले लगातार आक्रम बुनेपनि गोलरक्षक लोपेस लगातार बाधक बनिरहे । पहिलो हाफको २ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । उनले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहारमा लोपेस बाधक बने ।

दोस्रो हाफमा पनि पहिलो हाफकै प्रदर्शनलाई निरन्तरता दिएको सिटीले बराबरी गोल फर्काउन ७० औं मिनेटसम्म कुर्नुपरेको थियो । स्टर्लिङले दिएको कटब्याकमा डे ब्रुएनले पहिलो टचमा नै उत्कृष्ट फिनिस गर्दै खेल बराबरीमा ल्याए । अग्रता लिएको दुई मिनेटपछि नै ग्याब्रिएल जेससको प्रहारलाई लोपेसले विफल पार्दै खेल बराबरीमा नै कायम राखे ।

७७ औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण अवसर गुमायो । स्टर्लिङले पेनाल्टी क्षेत्रभित्र नै चिप पास निकाल्दै अनमार्क रहेका जेससलाई भेटेपनि ब्राजिलियन फरवार्डको प्रहार निकै फितलो रहयो । ७९ औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए ।

मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे । हौसेम औआरको लामो पासमा सिटीको डिफेन्स झुक्किएपछि एक्लै अघि बढेका डेम्बेलेको प्रहार गोलरक्षक एडरसनले बचाउने प्रयास गरेपनि उनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

८६ औं मिनेटमा सिटीले खेल बराबरी गर्ने अवसर चुकायो । स्टर्लिङले पोस्टमा गोलरक्षक नभएको अवस्थामा बललाई गोलको दिशा दिन नसक्दा सिटीले खेल बराबर गर्न सकेन । लगत्तै अर्कोतर्फ लियोनले खेलमा अग्रता दोब्बर पार्यो । गोलरक्षक एडरसनले सहज बचाउ गर्नुपर्ने बल फुत्काएपछि वैकल्पिक खेलाडी डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को अग्रता दिलाए ।

लियोनले अब सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । अर्को सेमिफाइनलमा पीएसजी र आरबी लाइप्जिगले खेल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार