काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलको खागि अभ्यासमा रहेको नेपाली टोलीले जित निकालेको छ ।
युएईमा अभ्यास भ्रमणमा रहेको नेपाली टोलीले आइतबार भएको दोस्रो अभ्यास खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको हो । नेपाल पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।
केन्याले दिएको १ सय ११ रनको सामान्य लक्ष्य नेपालले १९।५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । अभ्यास खेलमा नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदशएन गरे । उनी अर्धशतक बनाउनबाट ४ रनले चुके । दिपेन्द्रले ३५ बलमा ७ चौका र एक प्रहार गरेका थिए । त्यस्तै, नेपालका लागि कप्तान शरद भेषवाकर ३१ रनमा अविजित रहे । नेपालले खराब सुरुवात गरेको थियो । शून्य रन हुँदा नै पहिलो विकेटको रुपमा दिलिप नाथलाई गुमाएको नेपालले सागर पुनलाई ३ रन हुँदा गुमाएको थियो ।
नेपालका लागि यु–१९ का ब्याट्सम्यान अनिलकुमार शाहले उकास्ने प्रयास गरेका थिए । उनी १३ रन बनाएर आउट भए । केन्याका लागि नेल्सन ओधिम्बोले २ विकेट लिए ।
युएईको अबुधावीमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले धारिलो नेपाली खेलाडीको बलिङमा उच्च रन बनाउन सकेन । केन्याले ३२।२ ओभरमा सबै विकेटको क्षतिमा ११० रनमात्र बनाउन सक्यो । केन्याले उत्कृष्ट सुरुवात गरेको थियो । तर पहिलो विकेट पतनपछि भने एकपछि अर्को विकेट झरेको थियो ।

केन्यालाई सस्तैमा आउट गर्नका लागि नेपालका ललित भण्डारीले ४ आरिफ शेखले २ विकेट लिए । केन्याका रुसाद पटेलले २७ र एलेक्स ओबन्डाले २५ रन बनाएका थिए भने गुर्दिप सिंहले २२ रन बनाए ।
मंसिर २० गते बुधबार र २२ गते शुक्रबार युएईसँग शिख जायद क्रिकेट रंगशालामा नेपालले दुई खेल खेल्दैछ । नेपाल र युएईको लागि यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । विश्वकप छनोटमा पुग्न असफल यी दुई टिम यसअघि नै डिभिजन २ मा घुटुवा भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार