काठमाडौं, १७ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले न्युयोर्क आक्रमणका आरोपित सेफुल्लो सैपोभलाई मृत्युदण्ड दिनुपर्ने इच्छा व्यक्त गरेका छन् ।

यसअघि ट्रम्पले सेफुल्लोलाई कुख्यात ग्वान्तानामो जेल लग्नुपर्ने बताएका थिए । यो प्रक्रिया लामो हुने भन्दै अहिले चाहिँ ट्रम्प त्यसबाट पछि हटेका छन् ।
आरोपित आतंकवादी सेफुल्लोले न्युयोर्कमा आक्रमण गरेर आफूलाई राम्रो लागेको र अधिकभन्दा अधिक मानिस मार्ने आफ्नो उद्देश्य रहेको बताएका थिए ।
मंगलवार भएको आक्रमणमा आठजनाको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए ।
मृतकमा पाँचजना अर्जेन्टिनाका नागरिक थिए । न्युयोर्कमा स्नातक तह पूरा गरेको ३० वर्ष बितेको उपलक्ष्यमा रमाइलो गर्न उनीहरू त्यहाँ आएको बताइएको छ ।
उनीहरूबाहेक बेल्जियमकी एक महिला र दुई अमेरिकी नागरिक पनि परेका छन् ।
प्रहरीका अनुसार, न्युयोर्कमा ट्रक आक्रमण गरेर मार्ने व्यक्ति आतंकवादी संगठन आईएसबाट प्रभावित हुन् ।
अमेरिकी अभियोजनकर्ताहरूले सैपोभमाथि आतंक फैलाएको आरोप लगाएका छन् । उनीविरुद्ध आईएसका लागि संसाधन जुटाएको आरोप पनि लगाइएको छ ।
बीबीसीबाट


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार