विश्वकप छनोटको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलार्इ १ सय ५० रनको लक्ष्य दिएको छ। टसजितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ अोभरमा सवै विकेट गुमाएर १ सय ४९ रन बनायो।

कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै नेपाललार्इ सो स्कोरमा पुर्याएका हुन्। पारसले ७५ बलको सामना गर्दै ६३ रनको पारी खेलेका थिए। सो क्रममा उनले १० चौका प्रहार गरे।

अर्धशतकसँगै पारस लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। तीस वटा लिस्ट ए का खेल खेल्दै पारसले ३६ को अौषतमा एक हजार ५४ रन पूरा बनाएका छन्। सो क्रममा उनले २ शतक र ७ अर्धशतक प्रहार गरेका थिए। उनले सन् २०१४ जनवरी १३ मा युएईविरुद्धको खेलबाट लिष्ट ए खेलमा डेब्यू गरेका थिए।

पारससँगै नेपालका नेपालका लागि बसन्त रेग्मीले २४, सोमपाल कामीले १८ तथा रोहित पौडेलले १५ रन जोडे। त्यसबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन्।

दुबै अोपनरहरु फ्लपभएसँगै नेपालले खराब सुरुवात गरेको थियो। दोस्रो अोभरको पहिलो बलमै उपकप्तान ज्ञानेन्द्र मल्ललार्इ गुमाएको थियो। सफायन सरिफले उनलार्इ १ रनमै बोल्ड पारेका थिए।

तेस्रो अोभरको दोस्रो बलमा अर्का अोपनर दीलिप नाथ स्ट्रुट हाइटिंघमबाट ४ रनमै एलबिडब्लुको सिकार भए। लगत्तै पाँचौ अोभरको पहिलो बलमा दीपेन्द्रसिंह एेरीलार्इ १ रनमै एलबिडब्लुको सिकार बनाएका हाइटिंघमले अर्को बलमा शरद भेषावकरलार्इ बोल्ड पारेपछि पाँच अोभरमै नेपालले चार विकेट गुमाएको थियो।

कप्तान पारस खड्काले एकातर्फबाट नेपाली पारी अगाडी बढाइरहेपनि उनलार्इ अर्को तर्फबाट कसैले पनि लामो समयसम्म साथ दिन सकेन्। दीपेन्द्र र शरदसँगै पारसलार्इ साथ दिन अाएका अारिफ सेख(२) पनि सातौं अोभरमा पवेलियन फर्के।

छैटौं विकेटका रुपमा अाएका सोमपाल कामी १८ रनमा रनअाउट हुनुअघि उनले पारससँग मिलेर ४२ रनको साझेदारी गर्दै नेपाललार्इ अघि बढाएका थिए।

टिमको स्कोर एक सय रन हुँदा कप्तान पारस खड्कालार्इ थोमस सोलेले हेनरी जर्ज मुसोको हातबाट २९अौं अोभरमा क्याच गराएका थिए। ३६अौ अोभरमा नेपालले रोहितलार्इ ८अौं विकेटका रुपमा गुमाएको थियो।

छनोटमा नेपाल पहिलो खेलमा अायोजक जिम्बावेसँग पराजित भएको थियो। स्कटल्याण्डले भने यसअघिका दुर्इ खेलमा जित हात पारेको छ। स्कटल्याण्ड समूह बी को शीर्षमा छ भने नेपाल पुछारमा रहेको छ।

पाँच टोली सम्मेलित समूहको शीर्ष तीन टोली अर्को चरण(सुपरसिक्स) पुग्नेछ। सुपरसिक्सको शीर्ष दुर्इमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान पाउँनेछन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार