भक्तपुर, १४ चैत । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ ।

कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्दछन् ।

प्रत्येक दिन बिहान १०.१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हरेपछि उहाँले आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्नुहुन्छ । नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भीड छ कि छैन भन्ने जानकारी पनि उनले सिसी क्यामराबाट लिने गर्दछन् । नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिए ।
नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ‘इ–हाजिरी र सिसी क्यामरा जडान गरेको छ, सबै कार्यालयको नगरपालिकासँग सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्नसक्ने गरी प्रविधि जडान गरिएको छ । खड्काले भने ।

नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै कक्षमा बसेर वडा कार्यालयको गतिविधि, सेवाग्राहीको भीड, कर्मचारीको उपस्थिति हेर्ने गरेको बताउँदै उहाँले मोबाइलमा समेत एप्स राखिएकाले उनले जुनसुकै ठाउँमा बसेर पनि निगरानी गर्नसक्ने व्यवस्था गरिएको बताए ।

नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘इ–विलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजश्व समेत सिधैँ नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताए ।

वडा कार्यालयका अध्यक्ष, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका कर्मचारीले बिदा बस्नु परे नगरपालिकालाई अग्रिम जानकारी गराएर बिदा स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको मुख्य चोक चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ ।

आफ्नो क्षेत्रको विकास र अवस्थाको जानकारी लिन सजिलो गर्न चोकचोकमा सिसी क्यामरा जडान गरिने भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार