वैशाख, काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले  दिएको जानकारीअनुसार राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि घरका सदस्यहरुले उठाएर चिया पिलाएका थिए । त्यसको केहीबेरमै उनको निधन भएको हो।

राजा मामा उच्च रक्तचापको बिरामी थिए ।

उनको निधनले लोपोन्मुख कुसुन्डा जाती र सिंगो आदिवासी जनजातीहरुलाई अपुरणीय क्षति भएको गुरुङले बताए ।

‘कुसुन्डा कान्छा’ बने ‘राजा मामा’

उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।

आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङका अनुसार राजा मामा कुसुन्डाको अहिले अन्तिम संस्कारको तयारी भइरहेको छ । उनको श्रीमती र तीन कक्षामा अध्ययनरत एक छोरी छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार