सिन्धुपाल्चोक । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए ।

पहिलो दृश्य–चुनावकोः १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको टहरामा आए । घर बनाइदिने बाचा गरे । भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान । केही दिनपछि सडकमा विजय जुलुस निस्कियो । मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो । त्यसपछि शून्य भयो बाटो । देखिएनन् भोट माग्नेहरू । उनले भोटको बदलामा छातीमा झण्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् ।

बिकमानले झेलेको दोस्रो दृश्य हो (प्रभु येसुको लीला) रोग र भोकले डेरा जमाएर बसेको बिकमानको घरमा प्रभु येसुको सन्देश लिएर लोकल पादरीहरू पुगे । बिकमान आशावादी भए । छातीको बीचमा लागेको गरिबीको घाउ प्रभुले निको पार्ने आशामा उनी चर्च पुगे । ध्यान दिएर कुरा सुने। कहिल्यै पुस्तक नछोएका बिकमानले बाइबल छोइ हेरे। रोग र दुःख मोचन हुने आशा गरे। तर, रोग २० को १९ पनि भएन। गरिबीको त झन के कुरा ! त्यसपछि बिकमान फर्किएर फेरि चर्च गएनन्।

तेस्रो दृश्य यस्तो छः बिकमान टहरामा बस्दाबस्दै नगरवासी भए । गाउँवासीबाट नगरवासी भएको उनले पत्तै पाएनन् । ‘तपाईं नगरवासी हुनुभयो नि ?’, हाम्रो प्रश्नपछि खैनीले खाएको दाँत देखाउँदै उनी फिस्स हाँसे । एकछिनपछि भने, ‘खै नगरपालिका आयो भन्छ । आयो कि आएन केही थाहा भएन ।’ नगरपालिकाले बिकमानलाई कुनै उत्साह दिन सकेन । …

सिन्धुपाल्चोक बाह्रबिसे बजारको पश्चिमपट्टि, बग्रेफाँटमा छ, उनको टहरा। भूकम्पले आफ्नो थातथलो भत्काएपछि बिकमान यो टहरामा बस्न थालेका हुन्। ठ्याक्कै तीन वर्ष पूरा भयो टहरामा बस्न थालेको। यो तीन वर्षमा कति हुरी, कति घाम, कति वर्षा उनले र टहराले सँगै थामे, बिकमानलाई उति भेउ छैन।

वर्षा लाग्यो। भूकम्पपीडितलाई चिन्ता थपिएको छ। अब भेल पस्छ टहरामा। आहाल सोहर्नुपर्छ रातभरि। चिसो लाग्छ। न्यानो लुगा छैन। पीडित भन्छन्, ‘भूकम्पले हामीलाई झनै गरिब बनायो। सरखार भनेको हुनेखानेको त रै’छ नि। अब आशा छैन।’

भूकम्पपछिका केही समय यहाँ बिकमानका जस्ता कैंयन् टहरा ठडिएका थिए। चार तलाको घरधनीदेखि ठूलाठूला साहुजीसम्मका टहरा सँगै थिए। दोकानदारदेखि ठेकेदारसम्मका टहरा थिए । भूकम्पले तर्साउन छाडेपछि टहरा विस्तारै पातलियो। घर बनाउन सक्नेहरू लाखापाखा लागे। तर, बिकमानको तीन वर्ष हिउँद–वर्षा यही टहरामै बित्यो । …

२०७२ वैशाख १२ गते। बिकमानको घर ढल्यो। बालबाल बाँचे उनी। सबै थोक पुरियो भूकम्पमा। पराकम्पले डाँडै हल्लाउन थालेपछि बँचेखुचेको सामान कुम्लो बोकेर उनी परिवारसहित ओह्रालो लागे। बजारको पश्चिमपट्टि खेतमा टहरा बनाएर बस्न थाले।

विभिन्न संघसंस्थाले राहत वितरण र्गयो। बिकमान भन्छन्, ‘भाँडाकुँडा दियो। खानेकुरा दियो। नत्र भोकै मरिन्थ्यो होला।’ पहिलो किस्ताको ५० हजार अनुदान उनले पाए। पैसा लिएको बेला सरकारप्रति बिकमान निकै कृतज्ञ भएका थिए। पहिलोपटक आफू नागरिक भएको मसहुस गरे उनले। विपत्ति, दुःख, गरिबी र रोगले डेरा जमाएर बसिरहेको बिकमानको टहरामा त्यो पैसा मरुभूमिमा शीतको थोपाजस्तो बन्यो। दुरुपयोग गर्ने मन नहुँदा नहुँदै पैसा सकियो। पछिपछि सबैको टहरा हटे। तर, बिकमानको टहरा अझै छ। फाँटमा उनी मात्रै बाँकी छन्। अँध्यारो टहरामा उस्तै छ( अभाव, गरिबी, अशिक्षा र दुःख।

टहराको डिलबाट उनले हेर्दाहेर्दै ठूला मान्छेका घरको पिल्लर ठडिए। तला थपियो। जसको घर भत्किएकै थिएन, उसले पनि लाभग्राहीमा नाम निकालेर नयाँ घर थपे। जसको घर सामान्य चर्किएको थियो, उसले पनि भूकम्पपीडित बन्दै तला थपे। बिकमानका श्रीमती र छोराहरू भने अर्काको घर ठड्याउन धाइरहे।

तीन वर्ष बितिसक्दा उनले न घर बनाउन सके, न टहरा छोड्नै सके। न सरकारले अनुदान थपिदियो। पहिलो किस्तामै अड्कियो अनुदान। दोस्रो किस्ता पाउन उनले घरको जग बनाउनुपर्छ। अब घरको जग हाल्न नसके पहिलो किस्तास्वरूप पाएको ५० हजार उनले फिर्ता गर्नुपर्छ। त्यसैले अब ऋण गरेरै जग हाल्ने योजनामा छन् उनी। तर, ऋण ल्याउने कहाँबाट ? उनीमा चिन्ता थपिएको छ। उनको साझो निष्कर्ष छ, ‘भूकम्पले गरिबलाई हेप्यो। सरकारले पनि गरिबलाई नै हेप्दो रहेछ।’

बिकमानलाई आजभोलि दमले झनै च्याप्न थालेको छ। रातभरि सुत्दैनन्, खोकिरहन्छन्। मनमा कुरा खेलिरहन्छ। गालाको खोपिल्टो झन्झन् बढ्न थालेको छ। भन्छन्, ‘रातभरि निद्रै लाग्दैन। कतिबेला उज्यालो हुन्छ भन्ने मात्र मनमा खेल्छ।’ घाम उदाएपछि बिकमानको प्राण भरिएझैं हुन्छ। त्यसपछि टहराबाहिर निस्किएर सडकतिर एकतमासले हेरिरहनु, अगाडि बनेका घरको तला गनिरहनु उनको वर्षौंदेखिको दैनिकी बनेको छ।

अर्काको खेतमा कति समय बस्न दिने हो कुनै ठेगान छैन। कतिबेला लालाबाला लिएर कहाँ जानुपर्ने हो कुनै टुंगो छैन। लखेटिएका शरणार्थीझैं अस्थायी बनेको छ जिन्दगी। सुस्तरी भन्छन्, ‘कहिलेकाहीँ दिक्क लाग्छ। दिक्क लागेर पनि के गर्नु खै ! मर्न सकिएन।’

अब वर्षा लाग्यो। बिकमानलाई चिन्ता थपिएको छ। भेल पस्छ टहरामा। आहाल सोहर्नुपर्छ रातभरि। चिसो लाग्छ। न्यानो लुगा छैन। बेस्सरी खोक्दै बिकमान भन्छन्, ‘भूकम्पले हामीलाई झनै गरिब बनायो। सरखार भनेको हुनेखानेको त रै’छ नि। अब आशा छैन।’

सरकारमाथि बिकमानको आग्रह छ, ‘सरखार, हामी त सोझा जाति । छक्कापञ्जा जान्दैनौं। टाठाबाठालाई मात्रै होइन, गरिबलाई पनि हेर्नू ।’ अन्नपूर्णपोष्टमा खबर छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार