काठमाडौं, ८ साउन । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि राजीनामा दिएका हुन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए ।’ पत्नी उषाकला राईसँगै उपस्थित भएका तामाङले भने, ‘जे विषयमा निरन्तर लागिरहेको हुन्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ, अरु कसैलाई यस्तो नपरोस् ।’

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।

मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा तयार भइसकेको उनले जानकारी गराए । ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको छ । यो क्याविनेटको बाटो हुँदै संसदबाट पारित हुन्छ’ उनले भने ‘यी कानुनहरु असोज २ गते मध्यरातसम्म पारित हुन्छ ।’

माफी मागे तर, जोगिएन पद
विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार