कञ्चनपुर, १४ भदौं । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ ।

जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।

छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए । आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह र्गयौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु ।

गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार