हाम्रो देश नेपाल, गरीबीको सुचीमा बिश्वको दोस्रो स्थानमा पर्दछ । देशमा भएको गरीबी राजनितीक अस्थिरता र बेरोजगारीको समस्याले गर्दा बिदेश पलायन हुने नेपालीहरूको संख्या दिन प्रति दिन चरम रुपमा बढ्दैछ । नेपालीहरू ठूलो सपना बोकेर संसार को बिभिन्न विकशित तथा विकासोन्मूख देशहरूमा विदेशीने प्रकृया दिन प्रतिदिन बढिरहेको छ । यसै क्रममा जापान पनि नेपालीहरूको सपनाको मूख्य विकशित देश हो । जापान अतिनैराम्रो,सुरक्षित, शान्तीपूर्ण र बिभिन्न उच्चस्तरीय सुबिधाहरूले भरिपुर्ण भएको बिकशित देश हो। परिश्रम गरी खानेहरूको लागी जापान निकै नै राम्रो देश मानिन्छ । अहिले जापानमा बस्ने नेपालीहरूको संख्या ७० हजार नाघिसकेको छ । नेपालीहरूको संख्या बढ्दै गए अनुसार बिभिन्न समस्याहरू पनि बढ्दै गएको छ । यो सबै हुने भनेको नेपालबाट जापान आउने बेलामा जापानको बारेमा केही पनि नबुझी अन्ध-धोन्ध जापान भित्रिनु नै मूख्य कारण हो । जापानमा हाल देखिएको केहि मूख्य समस्याहरू लाइ बुँदागत रुपमा छोटकरीमा बयान गर्न चाहन्छु ।
सर्बप्रथमत जापानको भिषा र यसमा भएका समस्या हरूको बारेमा छोटो जानाकारी गराउन चाहन्छु ।
विध्यार्थी भिषामा आउनेहरुको समस्या
नेपालमा हाल च्याऊ उम्रेझै गल्ली गल्लीमा खुलेका कनसल्टेन्सीहरूले दिने झुटो सुचना ले गर्दा बिधार्थीहरूलाई निकै भ्रम परेको छ । जापानमा आउँने बिधार्थीहरू लाई प्रायजसो कन्सलटेन्सीहरूले निकै प्रलोभन देखाउछन । महिनामा २, ३ लाख कमाउन सकिन्छ । नियमले २८ घण्टा हो तर २, ३ ठाउँमा २८,२८ घण्टा गरी काम गरेमा केही समस्या पर्दैन। यसरी काम गरी महिनाको २ देखि ३ लाख सजिलै कमाउन सकिन्छ इत्यादि भनी बिधार्थीहरूलाई प्रलोभन देखाउछन। यस्ता झूटाआश्वासनदिईविधार्थीजम्मागर्छन।अनि त्यो बिधार्थी जापानको भाषा स्कूललाई १ बर्षको स्कूल फी र होस्टलको फि गरी १२ देखि १५ लाख सम्म तिरेर आउछ भने स्कूल अनुसार ६ महिनाको मात्र फि तिरेर आउने बिधार्थी पनि छन । जे भएनि जापानको ठाउँ अनुसार स्कूलको फि र होस्टलको फि गरी महिनाको नेपाली १ लाख देखी १ लाख ५० हजार सम्म तिर्नु पर्ने हुन्छ । यो रकम भनेको होस्टल शेयर गरेर बस्दा को रकम हो । खाना को त अझ अलगै छदैछ । यति पैसा तिरे पछि १ बर्ष वा डेड बर्षको भिषा पाउँछ । जापानमा त आउँछ तर यहाँ आएपछि बिभिन्न समस्याले एकैचोटी घेरेर उसको दु:ख को दिन गन्न शुरू हुन्छ । कन्सलटेन्सीले बोलेका मीठा शब्दहरू उसले केहि पनि पाउँदैन , न त सजिलै काम पाइन्छ , न त बोलेको भाषा नै बुझिन्छ । नबस्ने र खाने ठाउँको सहजता छ न कसैले दया माया गर्छन अनि भन्न थाल्छ बेकार मा आएछु । बल्ल बल्ल गरी हप्ताको २८ घण्टा काम त यताउता गरेर दुनियालाई पुकारी ढिलो चाँढो पाउँला त्यतिले त उसलाई २ छाक खान पनि पुग्दैन , अनि कसरी घर भाडा दिने कसरी नेपालमा रिण गरेर आएको रिण फर्काउने !! छोरा जापान पुगेको दिन बाट नेपालमा भएको परिवार ले कम्तीमा पनि महिनाको १ लाख पठाउँछ भनी आशा गरी बसेको हुन्छ । अनि कसरी पठाउने पैसा !! त्यसपछी त्यो बिधार्थी जे सुकै होस आएको रिण त उठाएर जानु पर्यो भनी जे पर्ला पर्ला , भनेर नियम बिपरित ओभर वर्क गर्ने निर्णय गर्छ ओभर कर्कमा परी पुलिसले समाते समात्छ भन्ने थाहा हुँदा हुँदै पनि ओभर वर्क गर्नको लागि अर्को २८ घण्टाको काम खोजिदिन दुनियालाई गुहार्छ । भरसक चिनजानका साथीभाईलाई पुकार्छ तर अन्तिम परेमा दलाल लाई पैसा दिएर भएनि काम खोजिदिन भन्छ । जापानमा पैसा लिएर काम खोजीदिने नेपाली दलालहरू छ्यापछ्याप्ती भेटिन्छन। फेरी ऊ अर्को ठगाइमा पर्छ काम खोज्दा पनि ठगीमा पर्छ । ४० , ५० हजार तिरेर भएनि अर्को काम खोजीदिनु भनी नेपाली दलाल लाई गुहार्छ र पैसा दिएपछि केही दिनमा काम पनि पाउँछ । पुलिसको निगरानीमा डराई डराई २ तिर काम गर्न थाले पछि अलि अलि बचाउँन शुरू गर्छ । तर अलि अलि गरी नखाइ नखाइ कमाएको पैसा नेपाल रिण तिर्न पठाउने कि फेरी स्कूललाई अर्को वर्ष तिर्ने फी जम्मा गरी राख्ने । ऊ दोधारमा पर्छ अनि फ्रस्टेशन हुन्छ उसलाई । नेपालमा आमाले पकाएको खाएको र थालमा चुठेर हिडेको बल्ल सम्झन थाल्छ । भिषा थप्नको लागि स्कूलमा हाँजीरी पनि पुर्याउनु पर्छ र स्कूलको फि पनि पुरै तिर्नु पर्ने हुन्छ । कमाउने आश लिएर आएको बिधार्थी, भिषा धान्नको लागि स्कूलको फि तिर्न , कोठा खर्च र आफ्नो खर्च पुर्याउन धौ धौ स्थितिमै रलमलाईरहेको हुन्छ । अनि केहि गर्न नसकेर फ्रसटेशन भई कुलतमा फस्ने र आत्महत्या गर्ने गरेका घटना धेरै छन । त्यसैले नेपालबाट कसैका बाबुआमाले छोराछोरीलाई जापान पढ्न पठाउनु हुन्छ भने छोराछोरीले पढिन्जेल लाई पुग्ने पैसा पुर्याउन सक्ने स्थिती भए मात्र पठाउनु पर्ने स्थिती देखिएको छ । जापानमा पढ्न आएका छोरा-छोरी ले पढने बेलामा आफ्नो खर्च पुर्याउन सक्नु भनेको नै ठूलो कुरा हो । तर नियम मानेर काम गर्दा कुनै पनि बिधार्थीले जापानमा पढ्ने खर्च आफैले पुर्याउन सक्दैन । यो कुरालाई बिचार गरेर मात्र आफ्ना सपनाका टुक्रा हरूलाई जापान पठाउनु होला ।
- कुक भिषामा आउने हरूको समस्या
जापानमा आउने ८० प्रतिशत भन्दा बढी नक्कली कुक छन । नेपालमा यूनिभर्सिटी सकेर बसेका, शिक्षक, कर्मचारी तथा अन्य कृषि तथा ब्यापार गरी बसेका बिभिन्न क्षेत्रका मानिसहरू नेपालको कुनै एउटा होटल तथा रेस्टुरेन्ट बाट नक्कली प्रमाण पत्र बनाई १० बर्ष काम गरेको अनुभब देखाइ कुक भिषामा दलाल लाई १२ देखि १५ लाख तिरेर जापान भित्रने गर्छन । उनीहरूलाई दलालले बिभिन्न प्रलोभन देखाई जापान पठाउने(बोलाउने) गर्छ । तर यहाँ बोलाउने रेष्टुरेष्ट मालिक ले उसलाई काम नदिने शर्त हो भन्छ । यसमा सबैलाई त भन्न मिल्दैन । राम्रो नियतले कुक बोलाउने रेष्टुरेण्ट पनि छन तर प्राय; जसो मान्छे बोलाउने उदेश्यले खोलिएका रेष्टुरेष्टकामालिकले मान्छे ल्याएर काम नै दिँदैन र काम दिइहाल्यो भने पनि महिनाको ५० हजार देखि १ लाख सम्म भन्दा तलब दिँदैन । त्यो १ लाख भनेको कोठा खर्च नै ठिकै हुन्छ । अनि कुक ले सोध्छ कसरी रिण तिर्ने साहुजी भनी । साहुजीको उत्तर हुन्छ । बुढी बोलाऊ बुढीले २,३ ठाउमा काम गरी कमाउँछिन अनि के को चिन्ता!!!!! । तर बिचरा कुक लाई थाहा हुँदैन की श्रीमतीले २८ घण्टा भन्दा बढी काम गरिन भने जापानको कानुन बिपरित हुन्छ र पुलिसको थुनामा पुग्नु पर्छ भन्ने । फेरी श्रमती बोलाउनको लागि डकुमेन्ट खर्च भनी साहुलाई पैसा दिई श्रीमती बोलाउँछ । तर श्रीमती आएसी सेयर गरी बसेको कोठामा बस्न मिल्दैन अनि फेरी ६,७ लाख रिण गरी कोठा भाडामा लिएर गास बास को ब्यबस्था मिलाउँछ। अनि भन्छ म भिषा धान्छु बुढी तिमी २,३ ठाउँमा काम गरेर पैसा कमाऊ ।
जापानको नियम- कानुन अनुसार जुन कम्पनिमा आएको हो त्यो कम्पनि मा भन्दा बाहिर काम गर्न पाउँदैन । यदि एउटा कम्पनी बाट अर्को कम्पनीमा सर्न चाहन्छ भने त्यसको प्रोसेस इमिग्रेशन मार्फत गर्नु पर्ने हुन्छ । जस्तै उदाहरणको लागि काम छोडेको पत्र ( थाइस्योकू स्योमेइस्यो ) र नयाँ जाने कम्पनीले दिने काम दिएको पत्र (जाइस्योकु स्योउमेइस्यो ) लिएर इमिग्रेशनमा गइ प्रोसेस गर्नु पर्ने हुन्छ । यदि कसैले यो प्रोसेस गरेन भने त्यो पनि अबैधानिक हुन्छ । प्राय: नेपालीले त्यो गरेको पाइँदैन ।
यस्तो हालत भएका कारण कुक भिषामा जापानमा आउने एउटा कुकले आउने बेलामा तिरेको पैसा कहिले तिर्ने , के खाने ? र कसरी रिण तिर्ने ?? नेपालमा पनि प्रायजसो रिण नै गरेर आएको हुन्छ । भिषा हुन्छ जम्मा १ बर्षको कमाई न समाई फेरी १ बर्षमा भिषा थप्ने बेलामा साहुले भिषा एक्सटेन्सन भनी अरू २,३ लाख माग्छ । अनि कहाँबाट दिने फेरी २,३ लाख तर श्रीमती बोलाइदिन्छु भनेर साहुले आश्वासन दिन्छ र लुरुक्क परी फेरी साहुलाई २,३ लाख तिरी भिषा थप्छ । तर श्रीमती ल्याएपछि न ५,६ जना मिलेर बस्ने साहुले खोजीदिएको स्टाफ कोठामा श्रीमती राख्न सक्छ न आफैले कोठा लिन सक्छ। जापानमा कोठा लिन पनि त्यति सजिलो कहाँ पो हुन्छ र ! कोठा भाडामा लिन पनि ग्यारेन्टर देखि लिएर बिभिन्न खर्च गरी सस्तोमा पनि ४,५ लाख लाग्छ । यसरी सम्स्या माथी समस्यामा परी मुटुमाथी ढुङगा राखी जापान मा नियम एउटा कुकले जीवन बिताएको हुन्छ ।
- ट्रेनिङ्ग भिषामा आउने हरुको समस्या
हाल आएर जापानमा कृषि क्षेत्रमा ट्रेनिङ भिषामा आउन पाउने सिस्टम बनेको छ । ट्रेनिङ भिषामा जापानमा आउन पैसा लाग्दैन । टिकटको पैसा पनि जापान को कम्पनिले पठाएको हुन्छ तर नेपालमा श्रम स्वीकृती र म्यानपावर हुँदै आउनु पर्ने भएकोले ट्रेनिङ्ग भिषामा आउने नेपालमै दलाल , र दलाल माथीका दलाल हुँदै ५ देखि १० लाखमा फसिसकेको हुन्छ । यहाँ ल्याउने कृषि कम्पनि ले त ट्रेनिङ्ग को लागि फ्रिमा टिकट,अनि गास बासको समेत प्रबन्ध गर्ने हुनाले महिनाको ७० हजार देखि १ लाख भन्दा दिँदैन तर नेपालमै दलाल, अनि दलाल माथीको दलाल गर्दै आउने हुनाले जापान टेक्ने दिन सम्म १०-१२ लाख उसको रिण पुगिसकेको हुन्छ । अनि उसले कमाउने ७० , ८० हजारले फोन को खर्च तिरी केहि बचाई नेपालको रिण तिर्ने पहल गर्छ तर नेपालमा गरेको रिण तिर्दा तिर्दै जापानमा बस्ने अबधी सकिन्छ ।
- डिपेन्डेन्ट भिषामा आउनेहरूको समस्या
जापानमा डिपेन्डेण्ट भिषामा आउने भनेको जापानमा कानुनी रूपमा बस्दै आएका र आम्दानी को श्रोत भएका (जापानमा परिवार ल्याएर पाल्न सक्ने स्टाटस भएको प्रमाण हुनेहरू) का श्रीमती र छोराछोरी र बाबु-आमाहरूहुन। तर प्रायजसोको बाबु-आमा लाई ल्याएर जापानमा पालेको देखिदैन । डिपेन्डेण्ट भिषामा जापानमा आउने हरूको मूख्य समस्या भनेको शिक्षा र भाषा को हो । अनि काम गर्ने समयमा लगाइएको प्रतिबन्ध हो । बिधार्थीहरू लाई झै डिपेण्डटेण्ट मा आउनेहरूले पनि काम गर्न पाउने समय भनेको हप्ताको २८ घण्टा हो । यदि २८ घण्टा भन्दा बढि कसैले कहि काम गरेको थाहा भयो भने त्यो गैर कानुनी हुन्छ र जापानको प्रशासन र इमिग्रेशनले कार्वाही गर्छ । जबकि भिषा रद्द गरी नेपाल फर्काइने केश पनि धेरै छ ।
- रिफ्यूजी हुनेहरूको समस्या
अहिले जापानमा कुनै पनि भिषामा जापानमा काकुनी रूपमा बस्न नसक्ने अवस्था भएपछि अन्तिम अवस्था को एक उपाए भनेको रिफ्यूजी (शरणार्थी ) भिषामा निवेदन दिनु भएको छ। शरणार्थीमा निवेदन हाल्दैमा जापानमा काम गर्न र बस्न पाइन्छ भन्ने होइन। शरणार्थीमा निवेदन दिएपछि दिबेदन दिने निवेदक शरणर्थी हो कि होइन भन्ने कुरा को अनुसन्धान गर्ने र निर्णय गर्नेबेला सम्म दिइने अस्थाइ बसोबास को अनुमती पत्र हो। यदि जापानको इमिग्रेशन र न्याय बिभाग ले कुनै पनि शरणार्थी को निवेदन को छानबिनको क्रममा ६ महिना भन्दा बढी समय लागेमा केश फाइनल हुने बेला सम्म ६ महिना कटेको खण्डमा काम गर्न पाउने एउटा अनुमती पत्र दिन्छ । केश फाइनल हुन कम्तीमा ६ महिना देखि बढीमा ५ बर्ष सम्म लाग्ने गर्दछ । नेपालीहरूले यसलाई नै रिफ्यूजी भिषा भनी परिभाषित गरेका छन । हाल सम्म जापानमा नेपाली हरूले शरणार्थी को भिषा पाएकोभन्ने सुनिन आएको छैन। नेपालीहरूले शरणार्थीको परिभाषा नै नबुझीकन शरणार्थीमा पस्ने प्रवृतीले गर्दा यो क्षेत्रमा बिबिध समस्याहरू देखिदै आएकोले अब जापान सरकारले वास्तविक र निर्धारित प्रमाण भएको डकुमेन्ट बिना निवेदन नस्वीकार्ने तिर गृहकार्य शुरू गरेको छ र रिफ्यूजीहरूलाई निवेदन दिएको ६ महिना भित्र वर्क परमिट दिने सिस्टम पनि निकट भबिष्यमा खारेजीको अभियान शुरू गर्दैछ भन्ने पनि हल्ला बाहिर आएको छ ।
ओभर स्टेमा बस्नेहरूको समस्या
आजभन्दा १०, १५ वर्ष अगाडी जापानमा ओभरस्टेहरू पनि प्रशस्तै भेटिन्थे तर हाल आएर जापानको प्रशासनिक कडाइ गरी उनीहरूलाई समातेर नेपाल फर्काउने अनि नेपालीहरू बिधार्थी भिषा, कुक भिषा , डिपेन्डेण्ट भिषा, ट्रेनिङ्ग भिषामा जापान भित्रिने लहर बढेपछि ओभरस्टे बस्नेहरूको संख्यामा कमी हुँदै आएको पाइएको छ । ओभर स्टे बस्नेहरूलाई जापानमा कानुनी रूपमा कुनै कम्पनि ले पनि काम दिन मिल्दैन । पहिल्यै देखि गर्दै आएकाहरूले गाँऊ वा कुना काप्चामा लुकिछिपि कठिन काम गरिरहेका केहि भए पनि अब त्यो अवस्था छैन । भिषा नभएपछि जापानमा इन्स्यूरेन्स (बिमा) हुदैन । इन्स्यूरेन्स नभएपछि दुख बिमार हुँदा औषधोपचार गर्न सक्ने अबस्था हुँदैन। अनि कतिपय मानिसहरू बिमार लाई खपि खपि बस्दा यसै मरिरहेका छन भने कतिपय चेक अप नै नगरी नेपालबाट औषधी मगाएर खाने गरेका छन । बिमार नै पत्ता नलगाई अन्धोधन्द औषधी सेवन गर्नाले पनि मानीसहरूको शरीर दिन प्रति दिन बिग्रदै गइरहेको छ । भिषा नभएपछि स्वतन्त्र रूपमा बाहिर हिडडूल गर्न पनि सक्दैन । अनि जापानको कम्पनिले भिषा नभइ काम पनि नदिने हुँनाले चाइनीज या नेपाली दलाल हरूलाई पैसा दिएर नक्कली रेसिडेन्ट कार्ड बनाई कम्पनीलाई छक्काएर काम गर्नेहरू पनि निकै छन । यस्ता हरूलाई अहिले जापानको पुलिसले निकै नै निगरानीका साथ कार्बाही गरिरहेको छ ।
जापानमा नेपालीहरूको अपराधीक गतिबिधी
अपराध भनेको ठूलो पनि अपराध र सानो पनि अपराध हो ।कतिपय नेपालीहरूलाई त अपराध भन्ने शब्दको अर्थ नै थाहा छैन । नेपालको सन्धर्भमा भन्ने हो भने अपराध भन्ने बित्तीकै हत्या हो भन्ने कुरा हाम्रो दिमागमा हुन्छ । हत्या भन्ने कुरा अपराध भित्रको एउटा हाँगा मात्र हो । हत्या भनेको हजारौ अपराध भित्र पर्ने एक अपराध हो । नियम र कानुन देश अनुसार फरक फरक हुन्छ ।जुनै पनि देशमा नियम-कानुन बनाउने बेलामा त्यो देशको देशवासीहरूको रितिरिवाज , धर्म, सँस्कृति जाती वा परम्पराहरूलाई पनि मध्यनजर गरी निर्धारण गरिएको हुन्छ । त्यसैले हामी जुन देशमा गए पनि त्यो देशको बारेमा अलिकति भए पनि ज्ञान लिएर जानु उपयूक्त हुन्छ । कतिपय कुराहरू हाम्रो देशमा सामान्य लाग्ने कुराहरू बिदेशमा अपराध हुन जान्छ ।नेपालमा जो सुकैलेसामान्यर पचाउन सक्ने कुरा जापानमा ठूलोअपराध पनि हुन जान्छ । जस्तै नेपालमा हाम्रो गाउँघरमा टोल छिमेकमा कुनै रूखको पात टिप्नु , हाँगा भाच्नु सामान्य कुरा हो । तिहारको बेलामा बाटोघाटोमा फुलेका फूल टिपेर सुघ्नु हामी नेपालीहरूको लागि सामान्य कुरा हो । यसमा कसैले ध्यान पनि दिदैँन र यस्ता कुराहरूलाई कानुनले पनि समेटेको पाइँदैन तर जापान अर्काको घरमा रोपेको फूलको त कुरै छोड्नुहोस। चाहे त्यो पार्कमा हुर्केको रूख वा फुलेको फूल नै किन नहोस, कसैले बिना स्वीकृति टिप्यो या भाच्यो भने त्यो पनि ठूलो केश बन्छ र जापानको पुलिसको थानामा थुनिएर बस्नु देखि लिएर केश समाप्त नहुँदा सम्म धेरै पटक अदालत धाउनु र जरिवाना भोग्नु र तिर्नु पर्ने हुन्छ । यो त दिए मैले एउटा सानो उदाहरण मात्र । नेपालीहरूको जापानमा भएको सबै घटना र कानुनी कुराहरू को बारेमा मैले वृस्तित लेख्न थाले भने त एउटा रामायण भन्दा पनि ठूलै ठेलि तयार हुन्छ। तर के के भएको छ जापानमा र के के कुराहरूमा जापानमा बस्ने नेपाली हरूले साबधानी अपनाउनु पर्छ भन्ने बारेमा म केही बुँधागत रूपमा लेख्न चाहन्छु । निम्न लिखित केशहरूमा नेपालीहरू जापानको प्रशासनको घेरामा बाधिएका छन ।
- अर्काको होकेन ( इन्स्योरेन्स ) प्रयोग गर्ने ।
- अर्काको रेसिडेन्स कार्ड बोकि हिडने ।
- जापानमा दर्ता नभएका अबैधानिक फोन कार्ड प्रयोग गर्ने (किन्ने बेच्ने दुबै)
- अर्काको क्रेडिट कार्ड बोकि हिड्ने ।
- अर्काको भिषा देखाएर फोन निकाल्ने ।
- अर्काको भिषा देखाएर काम गर्ने ।
- नक्कली कार्डहरू बोकि हिडने तथा प्रयोग गर्ने ।
- नक्कली भिषा र कार्ड प्रयोग गरी काम गर्ने ।
- डिपेन्डेन्ट र कुक ले २८ घण्टा भन्दा बढी काम गर्ने
- भिषा एउटा कम्पनीको तर काम अर्कै कम्पनिमा गर्ने ।
- चोरी ( १०० एनको क्याण्डी ,देखि लिएर लाखौ, करोडौं सम्मको सामान) ।
- पकेट मार्ने ।
- झै-झगडा , तोडफोड , मारपिट ।
- नक्कली विवाह ।
- अनैतिक सम्बन्ध ।
- लागू पदार्थ ओसार पसार एवं बिक्री बितरण ।
- अर्काको बारीमा लगाएको फलफूल साग सब्जी चोरी खाने ।
- कुकुरलाई लात्ती हान्ने ।
- राती हो-हल्ला गर्ने ।
- राती १० बजे पछि अर्कालाई फोन गरी डिस्टर्ब गर्ने ।
- जताभावी फोहोरफाल्ने ।
- ट्राफीक नियम बिपरीत बाटो काट्ने ।
- ओभर स्पीड गाडी चलाउने ।
- लाइसेन्स बिना गाडी चलाउने ।
- लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ।
- ठगी गर्ने , दलाली गर्ने ।
- कन्ट्रयाक्ट पेपर अनुसार कामदार लाई तलब नदिने ।
- कामदारलाई ८ घण्टा भन्दा बढी काम लगाउँदा ओभर टाइमको पैसा नदिने ।
- पैसा खाएर काममा लगाउने ।
- पैसा ब्याजमा लेनदेन गर्ने।
- हुण्डी बाट बिदेश पैसा पठाउने ।
- जुवा तास खेल्ने खेलाउने ।
- अवैधिक यौन ब्यापार गर्ने ।
- दर्ता नगरी कम्पनि , संघ-संस्था खोल्ने ।
- टिकट छलेर ट्रेन चढ्ने ।
- बच्चाको डिसकाउन्ट ट्रेन पास कार्ड बाबु-आमाले प्रयोग गर्ने ।
- सार्बजनिक ठाउँमा दिसा-पिसाब गर्ने ।
- पुरानो र बिग्रेका साइकिलहरू जथाभावी फाल्ने, अर्काले फालेको साइकिल चढी हिडने।
- घर भाडा , पानी, बत्ती, ग्याँस , फोन , इन्स्योरेन्स को पैसा नतिर्ने ।
- ट्याक्स नतिर्ने ।
- जथाभाबी पार्किङ गर्ने ।
- भिड भएको ट्रेनमा महिलाहरूको गुप्ताङ्ग हरूमा हात लगाउने।
- जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने ।
- लोन कार्ड प्रयोग गरी पैसा फिर्ता नगर्ने ।
- अपहरण गर्ने , थर्काउने ।
- अर्कालाई मान हानी हुने गरी बोल्ने प्राइबेसी कुराहरू गर्ने ।
- अर्काले खसालेको सामान टिपेर पुलिसमा नबुझाइकन आफैले लिएर जाने ।
- झूटो विवाह गर्ने ।
- स्कूल तथा कलेज को होस्टल भनी यौन ब्यापार सेन्टर खोल्ने ।
- सामाजिक संजालमा(बिशेषगरी) अर्काको मान हानी गरी बिभिन्न लेखहरू लेख्ने । ( साइबरक्राइमगर्ने ) ।
- DV( Domestic Violence) गर्ने ( श्रीमतीलाई थर्काउने, पिट्ने) ।
- नेपालमा श्रीमती भएर पनि नक्कली कागजपत्र बनाई जापानमा अर्को विवाह गर्ने।
- एक ठाउँ बाट अर्को ठाउँमा बसाइँ सरेको १५ दिन भित्रमा आफ्नो रेसिडेन्स कार्डमा एड्रेश चेन्ज नगर्ने ।
- कसैकलाई धम्की दिने ।
- बाटोमा हिडिरहेको यात्रीलाई जबरजस्ती आफ्नो दोकानमा खान जाऊँ भन्दै तान्ने ।
- नेपालमा बिभिन्न नक्कली संघ-संस्था देखाई जापानको संघ-संस्था बाट सहयोग रकम उठाई ठगी गर्ने ।
- जापानमा रिफ्यूजी गराउन सहयोग गर्ने र प्रलोभन देखाउने। इत्यादि इत्यादि ।
अहिलेसम्म जापानमा नेपाली हरूले गरेका अपराधहरू यी माथी लेखिइएका बुँदाहरू हुन । केहि छुटपुट पनि होला। केहि छुटपुट भएमा फेरी अर्को लेखमा निकाल्ने छु । यो सबै अपराधहरू कतिपय जानी जानी गरेका छन भने कतिपय अन्जानमा जापानको नियम, कानुन, भाषा, संस्कृति नबुझीकन जापान भित्रनाले भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




