काठमाडौं । लामो अन्योलतापछि अन्ततः मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।
बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले रातोपाटीलाई बताए । यो सँगै नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।

कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । उनी अहिले सोही सहमतिकै लागि मलेसियामा छन् ।

मलेसियाली अधिकारीसँग भएको छलफलबाट विगतमा भएका सबै समझदारी कार्यान्वयन गर्ने गरी सहमति गरिएको घिमिरेले जानकारी गराए । उनका अनुसार मलेसिया रोजगार आजैबाट खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा छन् । यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्नेछ । आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिने दाहालले बताए ।

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

‘मलेसिया जाने कामदार माथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते श्रम मन्त्रालयले मलेसिया श्रम स्विकृतिमा रोक लगाएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार