एजेन्सी – बोलिभियाका राष्ट्रपति इभो मोरालेजले पदबाट राजीनामा दिएका छन् । टेलिभिजनमा देशवासीको नाममा सम्बोधन गर्दै मोरालेजले राजीनामा दिएका हुन् ।  मोरालेजसँगै उप–राष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रियाना साल्भाटिएराले पनि राजीनामा दिएका छन् ।

भर्खरै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा मोरालेजले झिनो मतले जीत हासिल गरेका थिए । तर विपक्षीहरुले निर्वाचनको मतगणनाको क्रममा व्यापक धाँधली भएको आरोप लगाउँदै देशव्यापी प्रदर्शन सुरु गरेका थिए । आइतबार अन्तर्राष्ट्रिय निगरानी समूहहरुले अक्टोवर २० मा सम्पन्न निर्वाचनमा ‘धाँधली’ यथेष्ट प्रमाण भएकाले निर्वाचन परिणाम रद्द गर्न माग गरेको थियो ।

तर, मोरालेजको राजीनामा देशको सेना र प्रहरी प्रमुखको दबाबपछि आएको हो । बोलिभियाको सेना प्रमुख विलियम कलिम्यानले मोरालेजलाई ‘बोलिभियाको भलाइ तथा शान्ती तथा व्यवास्था कायम गर्न राष्ट्रपति पदबाट राजीनामा’ दिन आह्वान गरेका थिए । त्यसको केही पछि नै मोरालेजले राजीनामा दिएका हुन् ।

निर्वाचन परिणाममा धाँधली भएको भन्दै विपक्षीहरुले गरेको प्रदर्शनहरुमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फबाट हिंसा प्रयोग भएको देखिएको थियो ।

टेलिभिजन सम्बोधनमा मोरालेजले प्रदर्शनकारीलाई ‘दाजुभाइ र दिदीबहिनीमाथि आक्रमण रोक्न र आगजनी–तोडफोड रोक्न आह्वान गरेका थिए । मोरालेजको राजीनामा दिएपछि प्रदर्शनकारीले सकडमा खुसीयाली मनाएको देखिएको थियो ।

उता दक्षिण अमेरिकी राष्ट्रहरु भेनेजुयला र क्युवाले बोलिभियाको पछिल्लो घटनाक्रमलाई ‘कू’ भनेका छन् । ती दुई देशका वामपन्थी सरकारले विगतदेखि नै मोरोलेजको सरकारप्रति समर्थन जनाउँदै आएका थिए ।

मोरालेज बोलिभियाको आदीवासी समुदायबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुन् । उनी सन् २००६ यता निरन्तर राष्ट्रपति रहँदै आएका थिए । उनकै प्रयासमा बनेको नयाँ संविधानले राष्ट्रपतिको कार्यकाल सिमित गर्ने व्यवस्था गरेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार