टोकियो । तथ्यांक्कहरु हेर्दा, जापानमा केवल १ प्रतिशत मानिसहरु मात्र, क्रिस्चियन धर्म मान्दछन् । तर जापानमा क्रिसमस  रौनकता भने, अन्य क्रिस्चियन मुलुक भन्दा धुमधाम हुने गर्दछ । त्यसो त जापानमा क्रिसमस  सार्वजनिक विदा हुँदैन । तै पनि, पसल, रेस्टोरेन्ट, कन्भिनियन्ट स्टोर, सुपरमार्केट,पार्क लगायतका ठाउँमा झण्डै एक महिना अघि देखि नै जताततै, क्रिस्टमस सेलिब्रेसनका लाईटिङ्स तथा क्रिस्टमस विशेष परिकारहरुले सजिन थाल्दछ । पंक्तिकारलाई जापान प्रवेशको पहिलो महिनाबाटै यो विषयले बढो अचम्म पारेको थियो, किनकि संयोगले म डिसेम्बर महिनामा जापान आईपुगेको थिएँ । र डिसेम्बर को जापानको टोकियो सहर जसरी क्रिस्टमस मय भएको थियो , त्यति मैले अन्य मुलुकमा देखेको थिईँन । पछि कलेजमा पढ्दै जाने क्रममा जापानमा क्रिस्टमसको स्थान तथा अन्य जापानी परम्परा तथा सांस्कृतिक पाटोहरुको बारेमा जान्ने बुझ्ने अवसर मिल्यो ।

के वास्तवमै जापानीहरु क्रिसमस साँच्चै मनाईरहेका हुन्छन् त ?
मैले बुझेको जापान र जापानीहरुको स्वभावलाई जस्ताको तस्तै भन्ने हो भने, अधिकांस जापानीहरु उनिहरुकै मौलिक परम्परागत पर्वहरु पनि,त्यसको मर्मको गहिराईमा पुगी भावानात्मकरुपमा जोडिएर भन्दा पनि, आनन्द प्राप्ती तथा रमाईलो गर्ने बहानाको रुपमा लिने गर्दछन् । यो मैले यहाँ हानामी,मोमिजीगारी लगायतका अवसरहरुको रिपोर्ट तयार पार्नेबेलामा अनुभव गरेको हुँ । क्रिस्टमसकै सवालमा पनि, जापानमा वास्तवमा क्रिस्टमस नभई क्रिस्टमसको बेला बेचिने क्रिस्टमस केक, तथा क्रिस्टमस चिकेन जस्ता परिकारहरु चाहीँ लोकप्रिय छन् । एउटा भिडियो तयार पार्ने सन्दर्भमा,क्रिस्टमस सेलिव्रेसनका लागि खुल्ला पार्कमा सान्टाको ड्रेसअप गरेर रमाईलो गरिरहेका युवा यवतीहरुसंग कुराकानी गरेको थिएँ। झण्डै २० जना जतिसंग कुरागर्दा मुस्किलले ३/४ जनालाई मात्र क्रिस्टमस बारे जानकारी भएको पाएँ । यसरी हेर्दा, हरेकदिन व्यस्त दैनिकी बाँच्ने जापानीहरु, क्रिस्टमसलाई केवल खुसी हुने, साथी भाईबिच रमाईलो गर्ने, क्रिस्टमस केक तथा चिकेन खाने , प्रेमि प्रेमिका भेटघाट गर्ने जस्ता कुराहरुमै सिमित छन् भन्न सकिन्छ ।

कहिले बाट सुरु भयो त जापानमा यसरी क्रिसमस  मनाउने यो चलन ?
सामान्यत: विगतका घटनाहरु केलाएर हेर्दै, यस प्रकारको सेविव्रेसन, दोश्रो विश्वयुद्द पछाडी सुरु भएको मान्न सकिन्छ । क्रिस्चियनिटीको प्रवेश त्यस अगाडि नै प्रवेश भईसकेको भएता पनि, यसरी उत्सवनै मनाउने चलनको सुरुवात भईसकेको थिएन । त्यस बखतसम्म, जापानीहरु आफ्नै कला/संस्कृती तथा परम्पराहरुमै रमाईरहेका थिए । अझ भनौँ उनिहरु आफ्ना परम्परा तथा सम्पदाहरुकै आडमा सम्पन्न थिए । युद्द पछि, जापानपूर्णरुपमा तहस नहस अवस्थामा पुग्यो । यो संगै, अरु मुलुकका कला/संस्कृती तथा विकास निर्माणहरुबाट पनि प्रभावित हुन पुग्यो । दोस्रो विश्वयुद्द पश्चात जापानमा अमेरिकी सैनिकहरु मात्रै होईन धर्म प्रचारकहरु पनि आए । त्यसपछि सुरु भयो जापानमा क्रिस्टमस लगायतका बाह्य पर्वहरुको उत्सव ।

क्रिसमस  केक र यसको सुरुवात
विश्वयुद्द अघिको जापानमा केवल दुईप्रकार मिठाईहरु प्रचलनमा थिए । वागासी ( 和菓子) – मोची र विशेष जापानी रातो सिमीको मिश्रणबाट बनाईने हल्का गुलियो हुने मिठाईहरु र योउगासी( 洋菓子) पस्चिमा शैलिको अधिक गुलियो, चकलेट्स तथा क्यारेमेलहरुको मिश्रणबाट बनाईने मिठाईहरु । यि दुईमा पनि जापानी शैलीका मिठाईहरु, वागासी(和菓子) नै लोक प्रिय थिए । त्यस पछि, विभिन्न डेजर्ट( खाना खाईसकेपछि अन्तमा खाईने फलफूल तथा मिठाईहरुको)को रुपमा केकहरु खाने चलन सुरु भयो । यसलाई ठ्याक्कै यहि व्यक्ति तथा समयमा सुरुभयो भनेर लेखिएको भने भेटिदैन । यसरी, केक कल्चर( केक खाने चलन) को सुरुवात भयो । युद्दमा परास्त जापान विकास निर्माण देखि सुरक्षा एवं सुशासन सम्ममा अमेरिकी तथा अन्य बाह्य मुलुकहरुको दवावमा पर्न पुग्यो । यसै विच क्रिस्टमस केक लगायतका संस्कृतीमा हेल्लिन पुगेको देखिन्छ । जसले यो कल्चर ल्याए उनिहरुले यसलाई धर्म प्रचार र प्रभावको माध्यम मानेका थिए तर जापानीहरुले केवल केक मानिदिए, र यसको व्यवसायिक पाटो प्रधान देखे र सोहि अनुरुप विस्तारै विस्तारै, स्पोन्जी ब्रेडमा हिउँ रंगको क्रिमले छोपि माथिबाट रातो रंगले सजाईएको गुलियो केकलाई क्रिस्टमस विशेष बनाईदिए । केहि ईतिहासविद् तथा मानवशास्त्रीहरुका अनुसार, क्रिस्टमस केकमा प्रयोग हुने रंगहरुले जापानको झण्डालाई प्रतिविम्वित गर्दछ । सेतो पृष्ठभूमी, रातो रंग अनि गोलो आकार यो ठ्याक्कै जापानको झण्डालाई प्रतिनिधित्व गर्ने रंग र आकार हो । यसरी हेर्दा यसको सुरुवात गर्दा सायत केहि राष्ट्रियताको कुरालाई पनि मध्य नजर गरिएको थियो कि भन्न सकिन्छ । तर हिजो आज क्रिस्टमस केक केवल व्यवासाय हो । डिसेम्बर महिनाको सुरुवात देखिनै जापानका मूख्य सहरहरुका हरेक स्थानमा क्रिस्टमस केकको विज्ञापन गरेको पाईन्छ । क्रिस्टमस ईभमा क्रिस्टमस केक खाने चलनले यति व्यापकता पाएको छ कि, कतिपय कम्पनीहरुले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई गिफ्ट दिने गर्दछन् । यसका साथै हाल बजारमा पाईने केकहरुको आकार प्रकार तथा प्रयोग हुने कच्चा पदार्थहरुमा पनि विविधता पाईन्छ । किनकी यो संस्कृति नभई पूर्णत व्यापार हो ।

जापानमा क्रिसमस  प्रेम दिवसको रुपमा पनि लिईन्छ ।जापानमा क्रिस्टमस हिजोआज भ्यालेनटाईन् डे को रुपमै मनाउने युवाहरुको जमात बाक्लो छ ।क्रिस्टमसमा आफ्ना प्रेमिकाहरुलाई गिफ्ट दिने चलन छ । अरु केहि नभए पनि क्रिस्टमस केक उपहार दिँदै, संगै क्रिस्टमस चिकेन खानु चाहीँ अहिलेका युवा पुस्ताका जापानीहरुको क्रिस्टमसमा छुट्दै नछुट्ने चलन हो भन्दा फरक पर्दैन । र जापानमा , युवाहरु माझ २५ वर्ष कटेकी र अविवाहित केटिलाई ’ क्रिस्टमस केक’ सम्बोधन गर्ने अनौपचारिक चलन पनि छ, यद्यपी यो सकारात्मक अर्थमा भने प्रयोग गरिदैन । वयस्क केटाहरुको गफमा २५ वर्ष कटेका अविवाहित केटिहरुलाई विम्वात्मकरुपमा – क्रिस्टमस केक भनिने गरिन्छ ।

क्रिसमस  र व्यापार
जापानमा माथि उल्लेख गरिए जस्तै क्रिस्टमस कुनै नियम तथा संस्कारिक ढंगबाट मनाउने चलन छैन यद्यपी भव्यरुमा मनाईन्छ । जस्तै क्रिस्टमस केक, क्रिस्टमस चिकेन, केटाकेटीहरुलाई दिईने शान्टाको गिफ्ट बक्स, क्रिस्टमसका सजावटका सामग्री लगायतका सामग्रीहरुको व्यापारबाट हरेक वर्ष अरबौँको उद्योग चलिरहेका छन् । हज्जारौँले रोजगारी पाईरहेका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार