टोकियो । जापानमा हुनुहुन्छ र जापानी सिन्तो तथा बुद्दिस्ट मन्दिरहरुमा पुग्नुभएको छ भने, अवश्य यस्ता दृश्यहरु देख्नुभएको छ । सायद कतिपयले त यसलाई खरिद पनि गर्नुभएको होला ? तर, यो के हो र किन प्रयोग गरिन्छ ?तपाईलाई थाह छ ? आउनुस् आज हामी यहि जानकारी दिनेछौँ ।

यो भिडियोमा हेर्नुहोस्

यसलाई जापानी भाषामा एमा (絵馬) भनिन्छ । यसलाई नेपालीमा भाव अनुवाद गर्ने हो भने (बरपत्र) भन्दा उपयुक्त होला। यसलाई अंग्रेजीमा चाहीँ Votive Picture अथवा votive tablet भन्ने गरिन्छ । जापानी भाषाको शब्दस: अनुवाद गर्ने हो भने चाहीँ एमालाई घोडाको चित्र भन्न सकिन्छ । यसरी अर्थाउँदा यसको भाव पनि प्रस्ट हुन्छ ।
अझ सरल भाषामा यो, जापानी सिन्तो तथा बुद्दिष्ट मन्दिरहरुमा आफ्नो भाकल पुरा होस भनि अर्पण गरिने, काठबाट बनेको आफ्नो मनोकामना लेख्न मिल्ने काष्ठ पत्र हो । यो समान्यतय जापानी १२ वटा राशीमा रहेका कुनै पनि जनावरको आकारसंग मिल्ने हुनसक्दछन् । करिब ९ सेन्टिमिटर देखि १५ सेन्टिम्टरसम्मको आकारमा उपल्बध हुने एमा(絵馬) जापानको जुनकुनै स्थानमा रहेको सिन्तो तथा बुद्दिष्ट मन्दिर परिसरमा किन्न पाईन्छ ।

एमा( 絵馬) कहाँ र किन प्रयोग गरिन्छ त ?
यो जापानी सिन्तो तथा बुद्दिष्ट मन्दिरहरुमा, आफ्नो मनोकामना सिद्दीको लागि प्रयोग गरिन्छ । मन्दिर परिसरमा रहेका पसलहरुमा किनी,आफ्नो मनको कामना लेखि मन्दिरमा झुण्डाईन्छ । खास गरी, सिन्तो तथा बुद्धिस्ट मन्दिरपरिसरमा यस्ता एमा(絵馬)हरु झुण्ड्याउनका लागि विशेष स्थान नै व्यवस्था गरिएको हुन्छ ।

किन र कहिलेबाट एमा(絵馬)को सुरुवात भयो त ?
जापानी सिन्तो तथा लोक संस्कृतीमा घोडालाई भगवान( 神)को दूत मान्ने चलन छ । र सोहि अनुसार पहिले पहिलेका मानिसहरु आफ्नो मनोकामना पुरा होस् भनि, भगवानलाई खुसी पार्न मन्दिरहरमा घोडा चढाउने गर्दथे,तर सबैले महंगो घोडा चढाउन सक्ने त कुरै भएन । अनि अनि विस्तारै विस्तारै साँच्चैको घोडाको विकल्पहरुको सुरुवात भयो । र त्यहि विकल्प हो आज हामीले यो दृश्यमा देखाएको एमा(絵馬) अर्थात घोडाको चित्र । यसरी,काठ तथा माटोबाट बनेका घोडाहरु अर्पण गर्ने चलनको सुरुवात चाहीँ,कहिले भयो भनेर लेखिएको ठोस ग्रन्थ भने खासै भेटिदैन । तर केहि ईतिहास तथा संस्कृतीका अध्येयताहरुका अनुसार यो नारा शासन काल (सन ७१० देखि ७९४सम्म)मा पहिलो पटक देखा परेको हो । र यस्ता एमाहरुमा आफ्नो मनोकामना लेख्न थालेको चाहीँ सन १०१३ तिर हो भनेर लेखिएका पुराना ग्रन्थहरुमा भेटिन्छन् ।

एमा(絵馬) धर्म कि ब्यापार ?
मानिसहरुमा एमा(絵馬) आश्था मात्रैभन्दा पनि संस्कार या फेसन जस्तो हुन पुग्यो । जसका कारण सम्बन्धित मन्दिरहरुले व्यापक उत्पादन तथा विक्रि गर्न थाले । जसवाट ठूलो आर्थिक लाभ हुन थाल्यो । यस्तो अवस्था देखेर कतिपयले यो संस्कारको आलोचना पनि गरे । र भने कि मन्दिरहरुले आश्थाको व्यापार गरे । त्यसपछि केहि सिन्तो तथा बुद्दिस्ट मन्दिरहरुले त्यहाँबाट प्राप्त अर्थलाई विभिन्न विद्यालयहरुमा छात्रवृत्तीका रुपमा प्रदान गर्न पनि थाले । यद्यपी मानिसहरुको आस्था जोडिएको हुनाले यसलाई बन्द गर्न भने सम्भव देखिएन । वर्तमान जापानमा एमा(絵馬) मन्दिरहरुको अर्थसंकलनको राम्रो भरपर्दो स्रोत बनेको छ ।न्यूनतम ५ सय देखि १५ सय येन सम्म पर्ने एमाहरु टोकियोका मन्दिरहरुमा दिनमा थोरैमा पनि ५ सयप्रति बिक्रि हुने गर्दछन् । यस्ता मन्दिरहरु सयौँ छन् । अव आफै सोच्नुहोस् कि यो कत्ति ठूलो व्यवसाय होला ?

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार