काठमाडौं । छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ । नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ ।
कोरोनाको संक्रमणबाट पीडित भएका ती नेपाली केही दिनअघि मात्रै उहानबाट नेपाल आएका थिए । उनी विद्यार्थी हुन् । ती विद्यार्थीको रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । उनको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकका अनुसार संक्रमण भएको एक सातासम्म थाहा हुँदैन ।
२६ को मृत्यु, ९ सय १३ जनामा संक्रमण, एक नेपाली संक्रमित, अर्का एकमा आशंका
चीनको उहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लूएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको हो । यस्तै, चीनबाट भर्खरै फर्किएका अर्का एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उच्च निगरानीमा राखिएकाले उनलाई पनि कोरोना भाइरस भएको हुन सक्ने आशंका गरिएको छ । उनको पनि रगत परीक्षणको नमुना आज शनिबार नै हङकङ पठाउने तयारी गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । जसमध्ये चमेरोको मासु खाएर १३ जना, चाइनिज कोब्राको मासु खाएर नौ जना र मानिसबाट मानिसमा सरेर चार जनाको मृत्यु भएको उहान प्रान्तमा रहेका छाङ्सा युनिभर्सिटी मेडिकल कलेजका अन्तर्राष्ट्रिय कोर्डिनेटर तथा सल्लाहकार डा. रमेश आचार्यले जानकारी दिए ।
हालसम्म ९ सय १३ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । जसअन्तर्गत नेपालमा एक जना, थाइल्यान्डमा पाँच जना, दक्षिण कोरियामा दुई जना, जापानमा दुई जना, अस्ट्रेलियामा दुई जना, हङकङमा चार जना नागरिकलाई कोरोना भाइरस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, मकाउका दुई जना, अमेरिकाका एक जना, भियतनाममा दुई जनामा कोरोना भाइरस भएको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन ।
डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को समस्या निम्त्याउँछ । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।
स्वास्थ्य जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद व्यक्तिको विमानस्थलमै स्वास्थ परीक्षण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हाल आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पाटन अस्पताल, शुक्रराज अस्पतालमा उपचारको व्यवस्था गरिएको छ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सावधानी अपनाउनुको विकल्प नरहेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरे ।
यसैबीच, चीनमा माहामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणबारे सावधानी अपनाउन बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । बिहीबार दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हुबेई प्रान्तको राजधानी सहर उहानमा रहेका नेपालीलाई आग्रह गरेको हो ।
के भन्छन् चीनको उहानमा रहेका नेपाली चिकित्सक
हाल यस प्रान्तमा सय बढी नेपाली विद्यार्थी छन् । कुनै पनि नेपालीलाई अनुमतिबिना विश्वविद्यालयले बाहिर जान रोक लगाएको छ । यहाँबाट सबै उडान बन्द छन् । लामो तथा छोटो दूरीका सवारीसाधन अनिश्चितकालीन बन्द गरिएका छन् । आपतकालीन उद्धारका लागि एक किलोमिटरको दूरीमा एम्बुलेन्स र मेडिकल तयारी अवस्थामा राखिएको छ ।
यो भाइरस स्वयानान सी फुड मार्केटमा पहिलोपटक ७१ वर्षका चिनियाँ नागरिकमा देखिएको थियो । अहिलेसम्म ८ हजार नागरिक उच्च निगरानीमा छन् । अहिलेसम्म नेपाली सकुशल अवस्थामा छन् । १ सय ९६ नागरिकको जतिखेर पनि मृत्यु हुन सक्ने भन्दै उपचार प्रक्रिया थालिएको छ । यस्तै, १ हजार ९ सय जना उपचाररत छन् । यस्तै, उहानका ८ हजार बढी स्थानीय नागरिक उच्च निगरानीमा छन् ।
लक्षणहरू
-चारदेखि सात दिनसम्म नाकबाट रुघाजस्तो पानी बग्ने
– १०औं दिनदेखि १६औं दिनसम्म १०४ डिग्रीको उच्च
ज्वरो आउने
– एक सातापछि रातिको समयमा सुख्खा खोकी लाग्ने
– श्वासप्रश्वासमा अप्ठ्यारो हुने
– १३औं दिनदेखि टाउको दुख्न थाल्ने
– एक्सरे गर्दा भाइरल निमोनिया देखिने
-१३ देखि १५ दिनसम्म लिम्फोसाइट्स र डब्लूबीसीको लेभल घट्ने
– भाइरल निमोनियाका कारण मृत्यु हुन सक्ने
बच्ने उपाय
– सजिर्कल मास्क प्रयोग गर्ने
– प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने
– रुघाखोकी लाग्दा टिस्यु पेपर वा सफा कपडाले नाक छोप्ने
– बंगुर, कुकुर, बिरालो, सर्प, घोडा, चमेरोबाट टाढा रहने
– भीडभाडमा नबस्ने
– खाना खानुअघि, खाना खाइसकेपछि वा अन्य समयमा १० देखि १५ पटकसम्म साबुन पानीले
हात धुने
– बिरामी मानिसको सम्पर्कमा नआउने
राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




