चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) उपचार गराइरहेका नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिएका छन् ।

छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिएको तस्वीर सामाजिक सन्जालमा भाइरल बनेको थियो । यो घट्न ११ फागुनको हो । छोरी ज्वाईलाई टिका लगाएको भोलिपल्ट पर्शुरामको निधन भयो ।

विगत दुई बर्षदेखि जिव्रोको क्यान्सरबाट पीडित ६० वर्षीय पर्शुरामका एक छोरा र तीन छोरी छन् । तीमध्ये कान्छी छोरी हुन् शान्ता । कान्छी छोरीलाई ज्वाइँको हातमा सुम्पिएर मर्ने धोको थियो उनको ।

शान्ता र सुवासको विवाह फागुन १५ गते गर्ने तय भएको थियो । तर बुवाको अवस्था जटिल बनेका कारण दुबैतर्फका परिवारको सहमतिमा ११ गते नै बिहे गर्ने निधो भएको थियो ।

नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता र सुवास क्यान्सर रोगको उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आइसीयू पुगेका थिए । छोरीज्वाइँलाई आईसीयूभित्र देख्नेवित्तिकै सकीनसकी परशुरामले दुईहात जोडेर नमस्कार गरे । केही मुस्कुराउने प्रयास गरे । जिब्रोमा क्यान्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन् । दुनोमा ल्याइएको टीका पालैपालो लगाएर छोरीज्वाइँलाई आर्शिवाद दिए ।

आफन्त मदन भट्टराईका अनुसार पर्शुराम सधैं एउटै कुरा भन्ने गर्दथे, ‘कान्छी छोरीको बिहे देखेर मर्न पाए हुन्थ्यो ।’ बुवाको इच्छा पूरा गर्ने गरी बिहे पनि नारायणगढमा गरिएको मदनले बताए । ‘हामीले बुवालाई सोध्यौं, सबै तयारी गर्यौं,’ मदनले भने, ‘जसरी हुन्छ बुवाको हातबाट टीका लगाएर आर्शिवाद लिने धोको थियो, त्यो पूरा भयो ।’

डिउटीमै रहेकी नर्स अनिशा धरेलले खाना खुवाउँदा–खुवाउँदै उनको निधन भएको बताइन् । डिउटीमै रहेका चिकित्सक डा.सुरेन्द्र सिग्देलकाअनुसार बिहेकै दिन छोरीज्वाइँ अस्पतालमा आउने पूर्वजानकारी थिएन ।

सामान्यतः अस्पतालको आईसीयुभित्र त्यसरी जान दिन मिल्दैनथ्यो । ‘तर, उहाँको अवस्था निकै जटिल थियो, उहाँहरुले अनुरोध गरेपछि नाई भन्न सक्ने अवस्था पनि रहेन,’ डा. सिग्देलले भने, मानवीय संवेदनाको कुरा पनि भयो ।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार