काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । वर्ल्डमिटर इन्फोका अनुसार शनिबार बिहान ६ बजेसम्म ५ लाख ९४ हजार ६ सय ८७ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ३३ हजार ६ जना संक्रमित उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १७ हजार २९ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या एक लाख २ हजार ४६४ पुगेको छ । अमेरिकामा कोरोनाबाट एक हजार ६०७ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु भने इटलीमा भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ जना पुगेको छ । इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ९०९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगिसकेको छ ।

स्पेनमा ५ हजार १ सय ५८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या त्यहाँ ६५ हजार ७१९ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा संक्रमितको संख्या ६५ हजार ७१९ पुगेको छ । त्यहाँ यो समाचार तयार पार्दासम्म ३ हजार २९५ जनाले संक्रमणबाट ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मृत्यु र ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

जर्मनीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ । त्यहाँ ३ सय ५१ जनाको ज्यान गइसकेको छ । यस्तै, नयाँ तथ्यांक अनुसार इरानमा २ हजार ३७८ र फ्रान्समा १९ सय ९५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ८ सय ८७ पुगेको छ । यस्तै, पाकिस्तानमा ११ जनाको मृत्यु र १ हजार ३ सय ७३ जना संक्रमित भएका छन् ।

नेपालमा हालसम्म ४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये तीन जनाको उपचार भइरहेको छ । एक जना भने उपचार गरेर घर फर्किसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार