काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख ३६ हजार नाघेको छ । मंगलबार साढे ७६ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३१ लाख ३६ हजार नाघेको हो । जसमध्ये ९ लाख ५३ हजार व्यक्ति निको हुँदा २ लाख १७ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । त्यहाँ संक्रमितको संख्या १० लाख ३५ हजार नाघ्दा ५९ हजार २ सयले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा साढे २५ हजार संक्रमित थपिँदा २ हजार ४७० जनाको मृत्यु भएको छ ।

केही दिनयता मृत्युदर घटेको अमेरिकामा मंगलबार फेरि दोब्बरले बढेको छ । सोमबार त्यहाँ १ हजार २३६ जनाले ज्यान गुमाएका थिए ।त्यस्तै, कोरोनाबाट अर्को बढी प्रभावित देशमा स्पेनमा संक्रमितको संख्या २ लाख ३२ हजार पुग्दा २३ हजार ८ सय व्यक्तिले ज्यान गुमाएका छन् । इटालीमा संक्रमितको संख्या २ लाख नाघेको छ । जसमध्ये २७ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६६ हजार, बेलायतमा १ लाख ६१ हजार, जर्मनीमा १ लाख ५९ हजार, टर्कीमा १ लाख १४ हजार, रसियामा साढे ९३ हजार, इरानमा साढे ९२ हजार, चीनमा करिब ८३ हजार, ब्राजिलमा ७२ हजार, क्यानाडामा ५० हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । अन्य देशमा भने ५० हजार भन्दा कम संक्रमित छन् ।

दक्षिण एसियाको कोरोना संक्रमणको तथ्यांक हेर्दा भारतमा संक्रमितको संख्या ३१ हजार ३ सय पुग्दा १ हजार ८ जनाले ज्यान गुमाएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ हजार ८७३ संक्रमित थपिँदा ६९ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियाको अर्को बढी प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय नाघेको छ । जसमध्ये ३१२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा पाकिस्तानमा ६ सय ९७ जना नयाँ संक्रमित थपिँदा २० जनाको र्मतयु भएको छ ।

बुधबार बिहानसम्म बंगलादेशमा ६ हजार ४ सय, अफगानिस्तान १ हजार ८ सय, श्रीलंकामा ६ सय, माल्दिभ्स २५०, नेपालमा ५४ र भुटान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा नेपालमा २ जना थपिएसँगै संक्रमितको कुल संख्या ५४ पुगेको हो । जसमध्ये १६ जना बिरामी उपचारपछि घर फर्किसकेका छन् । बाँकी संक्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार