काठमाडौं । सोमबार १ असारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोर बिजोर प्रणाली लागू हुने भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिए । यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबारदेखि मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू गर्न गृहमन्त्रालयबाट निर्देशन आएको बताए ।

यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोर बिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन । जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइने जानकारी सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् ।

गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार