एजेन्सी । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको चार दिनपछि उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा प्रहरीले छापा मारेको छ । म्याराडोना संसारका सबैभन्दा चर्चित र महान खेलाडीमध्ये एक हुन् ।

प्रहरी छापामारी मार्फत् म्याराडोनाको उपचारमा कुनै लापरवाही त गरिएको थिएन भनेर अनुसन्धान भइरहेको छ । ६० वर्षको उमेरमा म्याराडोनाको २५ नोभेम्बरमा अर्जेन्टिनाको राजधानी ब्यूनस आइरसस्थित उनको घरमा हृदयघातका कारण उनको निधन भएको थियो ।

म्याराडोनाका छोरीहरुले आफ्ना पितालाई कस्ता औषधी दिइएको थियो, यसबारे अनुसन्धान होस् भनेर माग गरेका थिए । नोभेम्बर महिनाको सुुरुवातमा नै म्याराडोनाको मस्तिष्कबाट जमेको रगत निकाल्न गरिएको शल्यक्रिया सफल भएको थियो । यसबाहेक रक्सीको लत छुटाउनका लागि पनि उनको उपचार चलिरहेको थियो ।

डाक्टर लुकेले आफूले प्रहरीको अनुसन्धानमा मद्दत गरिरहेको बताएका छन् । उनले म्याराडोनाको ज्यान बचाउन अन्तिम अवस्थासम्म पनि हरसम्भव प्रयास गरिएको बताए । करिब ३० प्रहरीले स्थानीय समयानुसार आइतबार बिहान डा. लुकेको घरमा छापामारी गरेको थियो र अन्य ३० ले ब्यूनस आइरसमा उनको क्लिनिकमा छापा हानेका थिए ।

यो छापामारी मुद्दा चलाउने व्यक्तिहरुको आदेशमा हानिएको थियो जसमार्फत् म्याराडोनाका अन्तिम दिनमा के–के भएको थियो भनेर पत्ता लगाउने कोसिस भइरहेको छ । जब म्याराडोनालाई स्वास्थ्य लाभका लागि घर पठाइएको थियो तब उनी डिस्चार्ज हुने स्थितीमा नै नभएको बताइँदै आएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार