
दाई, जापानीहरुको पसलमा चाहीँ वाईफाई किन महंगो हुने होला है ? मेरो एक जना चिनेको दाईले त सित्तैमा ६ महिना चलाउन मिल्ने वाईफाई चलाईरहनु भएको छ । किन्नेबेलामा पसल जानु पनि नपर्ने रे ,फेसबुक पेजबाटै कुरा गरेर लिएको रे !
३ महिनाको शुल्क फ्रि अनि ट्याव/ आईफोन दिने भन्दै wi-fi भिडाउने अनि ३ महिना पछि वाईफाई नचलेर सम्पर्क गर्दा रिप्लाई पनि नदिने र ब्लक गर्दिने ।
wi-fi कै कम्पनिमा बुझ्दा ३ महिनाको बिल तिर्न बाकी भएर पैसा नतिरे सम्म सेवा सुचारु नहुने जवाफ आउछँ, यस्तो अवस्थामा के गर्ने होला ?
मैले मेरो जाईरो कार्ड,ठेगाना केहि दिएको थिईनँ, तर अहिले मोबाईल किन्न जाँदा सिंसा पास भएन, कारण खोज्दा वाईफाईको विल तिर्न बाँकी छ भन्छ, अब के गर्ने होला ?
फेसबुकमा जता हेरे पनि घरमा वाईफाई जोड्नुहोस् ३ महिना निःशुल्क सेवा सहित २४ हजार येन क्यास व्याक भन्छन्, के यो साँच्चै हो र ?
हिजो आज जसले पनि वाईफाई बेचेको देखिन्छ, एउटै मात्रै बेच्यो भने पनि २० हजार येनसम्म फाईदा हुन्छ भन्छन्, लौ न यो के रहेछ बुझाईदिनुस् न !
यि माथीका सम्वादहरु पछिल्ला केहि महिनायता मेरो मेसेन्जरमा आएका जिज्ञासाहरु हुन् । यसरी पछिल्ला समय जापानका नेपाली समुदायमा यस्ता प्रकृतीका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । केहि सानो/तिनो रकमको लालचले विभिन्न समस्या भोग्नेहरुको संख्या पनि बढिरहेको छ । कुनै पसलमै(एयु,सफ्टबैंक, एनटिटि दोकोमो आदिमा )गएर कन्ट्रयाक्ट गर्नुको सट्टा सजिलो बाटो र सस्तो शुल्कको पछि लाग्दा धेरै नेपालीहरु थाहै नपाई वित्तिय कारोबारमा कालो सुचीमा पर्न पुगेका छन् । त्यतिमात्रै नभई राम्रोसंग नबुझी सामाजिक संजालमा देखाईएका आकर्षक विज्ञापन र क्यासव्याकको लोभमा पछि विलम्ब शुल्क सहित निकै चर्को शुल्क तिर्न समेत बाध्य भएका छन् ।
वास्तविकता
अब, सुरुवातमा उल्लेख गरिएका जिज्ञासाहरुको जवाफ खोज्ने प्रयास गरौँ, जापानमा जो कसैले पनि बुझेको हुन्छ कि यहाँ सित्तैमा पाईने चिज केहि पनि छैन, यहाँ हरेक काम पैसामै पुगेर ठोकिन्छ, अझ महंगी त सगरमाथाकै उचाईमा छ । यस्तो महंगीको सहरमा उच्च गतिको ईन्टरनेट सेवा निशुल्क त्यो पनि १/२ महिना होईन कम्तिमा ३ देखि ६ महिनासम्म, कसरी सम्भव होला आफैँ सोच्नुहोस् । सामान्य तरिकाले सोच्दा सम्भव छैन यो नै सत्य हो । यद्यपी कुनै- कुनै कम्पनीले केहि महिना अलि सस्तो गर्ने तथा केहि रकम क्यासव्याक गर्ने जस्ता ग्राहक आकर्षण गर्ने पोलिसीहरु जापानी बजारमा छन् । जसका कारणले गर्दा सुरुका दिनमा केहि सस्तो देखिन्छ तर त्यो सेवाको न्युनतम प्रयोग अवधि,अन्य अतिरिक्त सेवा शुल्क तथा क्यान्सिलेसन चार्जहरु अधिक हुने जस्ता विविध घुमाउरोबाटो बाट प्लस/माईनस् जेरोको अवस्था बनाईएको हुन्छ । तर यस्ता स्किमहरु बेच्दा बेच्ने कम्पनीने सुरुमा ( कन्ट्रयाक्ट गर्नु अघि) सबै विस्तृतरुपमा बुझाएर ग्राहकले चित्त बुझाएको खण्डमा मात्रै सम्झौता गराईने गरिन्छ ।त्यसका लागि उपभोक्ता( खरिदकर्ता)पसलसम्म गई, आफ्ना वैधानिकता खुल्ने परिचय पत्र र बैंकको क्यास कार्ड वा क्रेडिट कार्ड देखाउने तथा स्क्यान गराउने जस्ता सबै आवश्यकिय मापदण्ड पुरा गर्नुपर्दछ । यसरी हेर्दा जापानको दूरसंचार सेवा अन्य मुलुकको तुलनमा झण्जटिलो देखिन्छ । तर यसरी कुनै पनि सेवाको सम्झौता गर्दा, भोली आफूलाई चित्त नबुझ्दा/भनेको भन्दा फरक पर्दा तुरुन्त सुनुवाई हुन्छ । लागत फिर्ता मात्रै होईन क्षतिपूर्ति समेत दावी गर्न सकिन्छ । यति भन्दै गर्दा यि सबै प्रकृया हामी विदेशीहरुलाई निकै झण्जटिलो लाग्छ, सकभर सजिलो र छिटो खोज्नतिर लाग्छौँ र अनि पुग्छौँ फेसबुक,लाईन जस्ता सामाजिक संजालमा देखिने सस्ता विज्ञापनहरु जहाँ उहि सेवा सस्तो, सजिलो र छिटो पनि लिन सकिने बताईएको हुन्छ । अन्तत: विदेशी ग्राहकहरुको मानसिकता बुझेका चतुर विदेशीले नै विविध आकर्षक प्रलोभन देखाई विभिन्न सेवाहरु भिडाईदिन्छन् । अनि त्यसपछि केहि दिनको हाँसो र सयौँ दिनको आशुको नियतीमा फस्न पुग्छन् ।
अनि जापानमा पनि, उनिहरुले कसरी यस्तो ठगीको काम गरिरहेका छन् त ?
गलत प्रवृत्ती भएका मान्छे जहाँ पनि हुन्छन् । अझ जापान जस्ता विकसित मुलुकहरु भनेका त विश्वभरका मानिसहरुको जमघट हुने मुलुक हो । फरक-फरक देशका १/१ वटा गलत अभ्यास ( ठगी धन्दा)लाई अबलम्बन गरे भनेपनि लाखौँ फट्टयाँईका आईडियाहरु सिर्जना हुन्छन् । विदेश आउने सबैको उदेश्य जसो गर जे गर धन कमाउ भन्ने नै हुन्छ । जब चाँडो धनी बन्ने सपना हुन्छ तब चोरबाटोहरु खोजि गर्न थाल्छन् । यस्ता खोजिएका आईडियाहरु सुचनाको पहुँच कम भएका तथा सामाजिक संजाल र संचार साक्षरता नभएका व्यक्तिहरुलाई टार्गेट बनाई भ्रममा पारी उस्तै उस्तै देखिने चिजलाई फरक वर्णन र फरक तरिकाबाट बेचिन्छ । जसको परिणाम लोभले लाभ र लाभले विलाप बन्ने अवस्थामा पुर्याईन्छ ।
त्यस्ता व्यक्ति तथा व्यवसायीलाई कारबाही गराउन सकिँदैन ?
अवश्य सकिन्छ, तर उनिहरुका कर्तुतहरुबारे प्रहरीकोमा या उपभोक्ता सेन्टरमा उजुरी गर्नुपर्दछ । यसरी कानुनीबाटो बाट जानलाई ति कम्पनी या व्यक्तिहरुको सम्पर्क नम्बर तथा ठेगाना र आधिकारिकता हुनुपर्दछ । यसका साथै ति व्यक्ति तथा व्यवसायीहरुबाट सेवा लिएको सम्झौता पत्र एवं त्यससंग सम्बन्धित जानकारीहरु मौजुत हुनुपर्दछ । तर यस्ता अनलाईन स्क्यामहरु केवल सामाजिक संजालमा खोलिएको फेक आईडी तथा कुनै लाईन,भाईबर, ह्वाट्स्एप्प, मेसेन्जर जस्ता माध्यमहरुकै भरमा चलाईएका हुन्छन् । जसले आफ्नो लक्ष पुरा हुनेवित्तिकै ब्लक गरिदिने या फोन रिसिभ नगर्ने जस्ता प्रवृति देखाई उम्किदिन्छन् । त्यसरी प्रलोभनमा पारी सेवा भिडाउनेहरु वास्तविक सेवा प्रदायक नभई केवल बिचौलिया मात्रै हुन्छन् ।जसले गर्दा झट्ट हेर्दा सहज देखेता पनि कानुनी उपचारको बाटो अप्नाउन केहि झण्जटहरु आउन सक्छ । तर सम्झनुपर्ने जापानमा उपभोक्तालाई कानुनले पहिलो प्राथमिकतामा राखेको हुनाले चाहनुभयो भने न्याय पाउन सकिनेछ ।
यस्ता ठगी धन्दाहरुबाट कसरी जगिने त ?
समस्यामा परेर समाधान खोज्नुभन्दा, पहिलै सजगता अप्नाउनु बुद्दिमानी हुनजान्छ । त्यसैले यस्ता सस्तो वाईफाई, क्यासब्याक जस्ता ठगीहरुबाट जोगिनका लागि पहिले नै थोरै सचेत बन्नसके काफी हुनेछ । जस्तै, सामान्यतया जापानमा तपाईको जाईरोकार्ड तथा क्यास कार्ड भाईबर/मेसेन्जर/लाईन जस्ता सामाजिक संजालहरुबाट पठाएको भरमै कुनै पनि दूरसंचार सेवा सम्झौता हुँदैन । कसैले गरिरहेका छन् भने तिनीहरुले जापानको दूरसंचार सेवा नियमन कानुन भन्दा बाहिर गई सो काम गरिरहेका छन् । त्यसै त्यो आधारसंगत छैन भन्ने बुझ्नुपर्दछ । यसका अलवा आफूले सेवा लिएको व्यक्ति या संस्थाको दर्ता भएको ल्याण्डलाईन फोन नम्बर, ठेगाना र कम्पनीको नाम अनि सम्बन्धित कर्मचारीको नाम सबै लिखितरुपमा सुरक्षित राख्ने । जसका लागि स्टाफ तथा पसलको भिजिटिङ् कार्ड लिन नभुल्ने । आफुले सिने सेवाको मासिक शुल्क, अतिरिक्त शुल्क,न्युनतम प्रयोग अवधी,सेवा क्यान्सिलेसन शुल्क लगायतका सबै बिस्तृत जानकारी लिखित या विद्युतिय कपी सुरक्षित राख्ने, संधै सकभर भौतिक पसल या सेवाकेन्द्र भएको ठाउँमा गएर सेवा लिने ।
( लेखक: राजन गौतम)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




