सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको हो ।

पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको लोप्सन लामाले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको हो । अहिले परिस्थिति सामान्य बसनसकेको छ । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार