ललितपुर । ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको घट्नाको मुद्दा बढ्दै गएको छ । बढ्दो पारिवारिक वेमेलका कारण विवाह गरेको २ महिनादेखि विवाह भएको ५५ वर्षपछि पनि सम्बन्धविच्छेदका लागि मुद्दा परेको पाइएको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेयले मुलुकी फौजदारी संहिता लागू भएपछि हालसम्म सम्बन्धविच्छेदका लागि १ हजार २ सय ७ वटा मुद्दा दर्ता भएको बताए ।

२०७५ साल भदौ १ गतेदेखि २०७८ असार २४ गतेसम्म परेको सम्बन्धविच्छेदको मुद्दामध्ये करिब ८० प्रतिशत मुद्दा फर्सौट भएका छन् । पाण्डेयका अनुसार अदालतमा गत आर्थिक वर्षमा ३३६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा २३१ वटा मुद्दा फर्सौट भइसकेका छन् ।

यस आर्थिक वर्षमा गत वर्षभन्दा पनि बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा यस आर्थिक वर्षमा ४४१ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २६९ थान मुद्दा फर्सौट भइसकेका छन् भने १७२ थान मुद्दा चालु अवस्थामा रहेका छन् । यस आर्थिक वर्ष सकिन अझै एक साता रहेको भएपनि गत आर्थिक वर्षभन्दा हालसम्म ३१ दशमलब २५ प्रतिशतले सम्बन्धविच्छेदको मुद्दा बढेको पाण्डेयले बताए ।

अदालतमा करणी उद्योगका मुद्दामा भने केही कमी आएको छ । मुलुकी फौजदारी संहिता लागू भएपछि (२०७५ भदौ १ गतेदेखि) हालसम्म १६७ थान करणी उद्योगका मुद्दा दर्ता भएका छन् । जसमध्ये ११२ थान मुद्दा फर्सौट भइसकेका छन् भने ५५ थान मुद्दा चालु अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०७६–७७ मा जम्मा ६६ थान करणी उद्योगका मुद्दा दर्ता भएकामा ५० थान मुद्दा फर्सौट भएका छन् भने १६ थान चालु अवस्थामा रहेका छन् ।

यस आर्थिक वर्षमा भने करणी उद्योगको मुद्दामा सामान्य कमी आएको छ । यस आर्थिक वर्षको असार २४ गतेसम्म करणी उद्योगमा ५९ थान मुद्दा दर्ता भएका छन् । ५९ थान मुद्दामध्ये २० वटा मुद्दा फर्सौट भइसकेका छन् भने ३९ वटा चालु अवस्थामा रहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार