पोखरा । ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली पक्राउ परेकी छिन् ।

पक्राउ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यौनांग बाँधिएका कारण असह्य भएपछि चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएको र उनको बुवा पहिले नै निधन भइसकेको र आमा गाउँमै रहेको खुल्न आएको छ ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए । घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता पनि भएको थियो ।

उक्त सम्झौता पत्रमा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आरोपी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार