काठमाडौं । साविक विजेता नेपाल लगातार दोस्रोपटक एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । नेपालले उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सानदार जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानले कठिन चुनौती पेश गरेपनि नेपालले त्यो चुनौतीलाई चिर्दै २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । लिग चरणमा भने नेपालले ३–० को सोझो सेटमा जित निकालेको थियो । नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई सोझो सेटमा हराएर उपाधि उचालेको थियो ।

अघिल्लो संस्करण एउटा सेट पनि नगुमाई उपाधि जितेको नेपालका लागि यसपल्ट उपाधि यात्रा कठिन रह्यो । श्रीलंका र उज्वेकिस्तानको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको हो । उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा कायम राख्न सफल भयो । नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २२ सेट खेल्दा १८ सेटमा जित र ४ सेट गुमायो । लिग चरणको पहिलो खेलमा श्रीलंकासँग र फाइनलमा उज्वेकिस्तानसँग नेपालले २–२ सेट गुमायो ।

कप्तान अरुणा शाही महिला टोलीलाई सेन्ट्रल जोनको लगातार दोस्रो उपाधि दिलाउने पहिलो कप्तान बनिन् । उनकै कप्तानीमा नेपालले २०१९ मा स्वर्ण जितेको थियो । जुन नेपाली भलिबल इतिहासकै ऐतिहासिक स्वर्ण बनेको थियो । यसै च्याम्पियनसिबाट सेटर कृपा अधिकारी, मिडल ब्लकर मनिषा चौधरीले पूनरागमनसहित खेल्दा ओपन स्पाइकर शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले राष्ट्रिय टोलीमा डेब्युको मौका पाइन् । प्रतिभा माली, सरस्वती चौधरी र सलिना श्रेष्ठ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनलाई दोहो¥याइन् ।

त्यसअघि किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएर श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ । बंगलादेश पाँचौ तथा माल्दिभ्स पुछारमा रह्यो । २३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रले रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष टोली पदकबाट वञ्चित

नेपाली महिला टोली एभिसी सेन्ट्रल जोनको च्याम्पियन बने पनि पुरुष टोली भने पदकविहिन बनेको छ । तेस्रो स्थानको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल पदक विहिन बनेको हो । नेपालले उज्वेकिस्तानलाई १५–२५, १७–२५ र २२–२५ ले नतिजा सुम्पियो ।

नेपालले लिग चरणमा पाएको ३–१ को जितलाई पदक भिडन्तमा निरन्तरता दिन सकेन । दुई वर्षअघि स्वदेशमा भएको च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । यसपटक भने पदकका लागि प्रतिस्पर्धा गरेपनि अन्त्यमा असफल हुन पुग्यो । पाँच वर्षअघि माल्दिभ्समा भएको सोहि प्रतियोगितामा भने नेपाल कास्य पदक जितेको थियो ।

त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक थियो । ४० दशक भन्दा लामो नेपालको अन्तर्राष्ट्रिय यात्रामा त्यो एक मात्र पदक हो । राउन्ड रोविनमा श्रीलंका र बंगलादेश पराजित नेपालले उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै कास्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । पुरुषतर्फको आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

सेन्ट्रल जोनमा अरुणा र सलिनालाई अवार्ड

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ उत्कृष्ट सेटर चुनिएकी छन् । नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनकै कप्तानीमा नेपालले लगातार दोस्रो संस्करणमा पनि च्याम्पियन बन्न सफल भएको थियो ।

त्यस्तै नेपालकै सलिना श्रेष्ठ च्याम्पियनसिपको उत्कृष्ट लिवेरो चुनिएकी छन् । उनले पनि नेपालको च्याम्पियन यात्रामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । श्रीलंकाकी प्रितिका प्रमोधानी उत्कृष्ट स्पाइकर चुनिदा किर्गिस्तानकी आइदाई कादी उत्कृष्ट ब्लकर चुनिइन् । उज्वेकिस्तानकी इजोजारखोन सातिबोल देइभा च्याम्पियनसिपको सर्वाैत्कृष्ट खेलाडी चुनिइन् । उनीहरु सबैले ट्रफी पाए ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार